घरमाथीबाट ढुङ्गा खसेर घर भत्कँदा ४ जना घाइते भएका छन् । घरमा डेरा गरी बस्ने जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ९ बस्ने पुरन पून मगर ,प्रेम पुन मगर,जुना र सिता पुनमगर रहेका छन् । उनीहरुको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ । घाइते सिता पुनले भनिन् ‘पहिलो निद्रामा थिए सपना जस्तै लाग्छ एक्काशी टिपेर फाले जस्तो भयो थाहा पाइन । पछि होसमा आउँदा जिल्ला अस्पतालमा थिए । दशैको लागी भनेर किनेका नयाँकपडा र मोबाइल समेत पुरियो , खै दैनिक काम गरेर खाने मान्छे दशा लागेछ ।’ सितासंगै अन्य ३ जना भाडामा बस्ने बन्दोबस्तीका सामान पुरीएपछि गासँबासको चिन्तामा छन् ।
जिल्लाको सनपा १० माटेमा रहेको सिद्धिमान चौहानको घर सालझण्डी सन्धिखर्क ढोरपाटन सडकको काम भइरहेको स्थानबाट रातको ११ बजे ढुङ्गा माथीबाट खस्दा लाखौंको क्षति भएको छ । काम गर्ने समयमा ठेकदारको लापरबाही भएका कारण ढुङ्गा खसेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय खिमा खनालले भने ‘ढेक्का सम्झौतामा सोलोप काट्ने भनेर सम्झौता भए पनि ठेकेदारले लापरबाही गर्ने जहाँ बढि ढुङ्गा निस्कन्छ त्यही मात्र खन्ने भएका कारण क्षति भएको छ ।’ ८० वर्षीय घरधनि सिद्धिमान चौहानले भने ‘घर बनाउने जग्गा सबै मोटरबाटो र विद्युतको हाईटेसन लाइनले खाइदिए बस्ने एउटा बास पनि बाटोले भत्काइदियो । उचित क्षतिपूर्ती नदिए सम्म बाटो खन्न दिन्न । ’
रातको समयमा घरमाथीबाट ढुङ्गा खसेर घर क्षति भएको सालझण्डी ढोरपाटन सडक आयोजनाका प्रमुख होमबहादुर एसीले बताए । उनले भने ‘ठेक्दारले जोगाएर खन्दाखन्दै पनि रातको समयमा ढुङ्गा खसेर क्षति भएछ यसमा कार्यालयले क्षतिपूर्ती दिने व्यवस्था छैन । ठेकेदार र घर धनिबीच आपसी सहमतिमा नै काम हुन्छ कार्यालयको तर्फबाट सहजीकरण हुने छ ।’ उक्त स्थानमा शिवशक्ति,महालक्ष्मी र दिव्यजोयोती कन्ट्रक्सनले काम गरिरहेका छन् ।



