प्रदेश नं. २ का ८ जिल्लामा भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३५ स्थानीय तहको मतगणना जारी रहेको छ ।
एक स्थानीय तह राजविराज नगरपालिकामा भने मतगणना सुरु भएको छैन । त्यहाँ ५ गतेपछिमात्रै मतगणना सुरु हुनेछ । मतगणना जारी रहेका १३५ स्थानीय तहमध्ये १२८ स्थानीय तहको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजकि भएको विवरणअनुसार कांग्रेसले ५० स्थानीय तहको प्रमुख पदमा अग्रता लिएको छ । त्यस्तै नेकपा एमालेले २१ स्थानीय तहमा अग्रता लिएको छ भने माओवादी केन्द्रले २२ स्थानीय तहमा अग्रता लिएको छ ।
त्यसैगरी राष्ट्रिय जनता पार्टी राजपाले १७ स्थानीय तहमा अग्रता लिएको छ । संघीय समाजवादी फोरमले १५ स्थानीय तहमा अग्रता लिँदा मधेसी जनअधिकार फोरमले ५ स्थानीय तहमा अग्रता लिएको छ ।

देवताल गापा–१ मा माओवादी र पचरौता नपा–१ मा एमाले विजयी
बाराको देवताल गाउँपालिका–१ मा माओवादी केन्द्र विजयी भएको छ । भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार वडाध्यक्षमा पनानलाल साह ४ सय ८१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबाबु मियाँले १ सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृत यमप्रसाद ढुङ्गानाले जानकारी दिए ।त्यसैगरी पचरौता नगरपालिका–१ मा नेकपा ९एमाले०को प्यानल विजयी भएको छ ।
नेकपा (एमाले)का उम्मेदवार जगतनारायणप्रसाद यादवले ८ सय १७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी राजपाका विनय सिंहले ६ सय ४० मत प्राप्त गरेको थियो ।

बर्दिबास–१४ मा काँग्रेस विजयी
महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७ सय ३ मत ल्याएर विजयी भएका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी (माओवादी केन्द्र) का उमेश महतो ४ सय ३४ मत ल्याएका छन् ।
रौतहटमा कांंग्रेस, एमाले, माओवादी र राजपाबीच प्रतिस्पर्धा
रौतहटका चर्चामा रहेका तीनवटा नगरपालिका चन्द्रपुर, गौर र गरुडामा कांग्रेस, एमाले, माओवादी र राजपाबीच प्रतिस्पर्धा देखिएको छ । मंगलबार साम्झसम्ममा चन्द्रपुरमा मेयरका उम्मेदवार माओवादी केन्द्रका युवराज भट्टराई १३३५, एमालेका उद्धव रेग्मी १२८० र कांग्रेसका रामचन्द्र चौधरीले १४३५ पाएका छन्। सँगै जिल्लाको मध्य भागमा रहेको गरुडा नगरमा एमालेका मो करिम्उलाहले ३२५, कांग्रेसका सुनिल यादवले १८०, माओवादीका बिपिन जयसवालले ८८ संघीय समाजवादी फोरमका इन्दुराय यादवले ९३ र राजपाका रामचन्द्र गुप्ताले ३९ मत पाएका छन् ।

यस्तै सदरमुकाम गौरको १ र २ नम्बर वडाको गणना भइरहेको छ पछिल्लो परीणाम अनुसार राजपा नेपालका मेयरका उम्मेदवार अजय गुप्ताले ५१८, एमालेका शम्भु साहले ७३२ सघिय समाजवादी फोरम का गौरीशंकर यादवले ५९ मत प्राप्त गरेका छन ।
रौतहटमा १६ वटा नगरपालिका र २ वटा गाउँपालिकाको मतगणना जारी छ । रौतहटको इसनाथ नगरपालिका १ मा नेपाली कांग्रेसका बिगु साह बनियाँ र बृन्दाबन नगरपालिका १ मा शेष नाजिर हुसैन विजयी भएका छन । यस्तै बृन्दाबन नगरपालिका ९ मा कांग्रेसका शेष हुशैन परोहा नगरपालिका २ मा माओवादी केन्द्रका एजाजुर रहमान, सोही नगरपालिका १ का कांग्रेसका मो समिउल्लाह, देवाहीगोनाही नगरपालिका १ मा संघिय समाजबादी फोरमका शेष नुरुल्लाह वडा अध्यक्ष पदमा विजयी भएका छन् ।
रौतहटका विभिन्न नगरपालिकाका मतगणनास्थलमा संंचारकर्मीलाई सूचना संकलन र फोटो खिच्न प्रवेशमा रोक लगाएपछि समाचार संकलन कार्य प्रभावित बनेको छ ।

चन्द्रपुर लगायत नगरपालिकामा संचारकर्मीहरु लाइ सुरक्षाकर्मीहरुले प्रवेश निषेध गरेका छन् । मंगलबार साँझ बृन्दाबन नगरपालिकाको मतगणना स्थलमा झडप भएको छ । रौतहट ६ नम्बर क्षेत्रमा संसदराम कुमार भट्टराई मतगणना स्थलमा पुग्दा नेपाली कांग्रेसका कार्यकर्ताले ढुगा प्रहार गरेपनि एमाले र काग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।
मतगणना प्रभावित पार्न संसद भट्टराई आएको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध गरेको बताइएको छ । झडपमा एक जना घाइते भएका छन् । सो नगरपालिकाको मतगणना रोकिएको छ।
झडपपछि मतगणना रोकिएको निर्वाचन अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए । सो स्थानमा ठूलो सख्यामा सुरक्षाकर्मी खटाइएको छ ।



