नेपालको राजनीतिक इतिहासमा आजको दिन एउटा असाधरण र ऐतिहासिक दिन हो । जनताबाट निर्वाचित संविधानसभाले जारी गरेको संविधानले आज दुई बर्ष पुरा गरेको छ । यसलाई हामीले राष्ट्रिय दिवसका रुपमा मनाएका छौं । यस अवसरमा म सबैमा हार्दिक बधाई ज्ञापन गर्न चाहान्छु । संविधान जारी गर्न नदिन थुप्रै प्रयास र षड्यन्त्र भए, त्यसका विपरित हामीले ऐतिहासिक संविधान जारी गर्यौं । यो राष्ट्रिय दिवस, संविधान दिवसका अवसरमा म सबैलाई फेरि पनि बधाई भन्न चाहन्छु । हामी यो संविधान कार्यान्वयन गरिरहेका छौं र गर्छौं ।

अर्को, यो कार्यक्रम दशै लगायतका सामुन्नेमा आएका सबै पर्बको शुभकामना आदान प्रदान कार्यक्रमसमेत भएको हुँदा सबैलाई शुभकामना भन्न चाहान्छु । सबैलाइ सुख मिलोस्, सबैको भलो होस् । सबै सुखी हौं । नेपाल सुशासनतर्फ जाओस् । नेपाल सुशासन भएको, कानुनी शासन भएको लोकतन्त्र भएको देश होस् भन्ने शुभकामना दिन चाहन्छु । नेपालको लोकतन्त्र सुदृढ होस् र जनमैत्री होस् । ‘सर्वे भवन्तु सुखीन, सर्वे सन्तु निरामया’ को कामना गर्दछु । नेपालमा सामाजिक न्याय, समानता र सद्भाव रहोस् । घृणा नहोस् । राष्ट्रिय एकता कायम रहोस् भन्न चाहान्छु । शान्तिका नाममा उपद्रव, हत्या हिंसा नहोस् । नेपाली जनतालाई कसैले हेप्न नसकोस् ।  नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा कसैले आँखा लगाउन नपाओस् ।

पहिला पहिला आशिर्वाद दिंदा माटो छोए अन्न होस्, ढुंगा छोए हिरा होस् भन्ने आशिर्वाद दिएको मैले सुनेको थिएँ । त्यो मलाई ठीक लाग्थ्यो । मलाई लागेको थियो– पानी छुँदा बिजुली होस् किन नभनेको होला ? मैले पुराना ग्रन्थ हेरेँ, तर त्यो पनि रहेछ । ऋग्बेदको ऋचामा पानी छुँदा आगो र करेन्ट उत्पन्न हुन्छ भन्ने लेखेको रहेछ । ५÷६ हजार बर्ष अघि नै हाम्रा पिता पुर्खाले, हाम्रा ग्रन्थहरुमा यो सबै लेखेको रहेछ । स्रोतमा मात्र होइन, ग्रन्थहरुमा पनि हामी सम्पन्न छौं ।
अव हामीले यो देशलाई सुन्दर बनाउनु छ । सुन्दर देश बनाउने अभियानमा हामी सधैं सफल हुन सकौं । यो संविधान कितावमात्र होइन, हाम्रो बलिदान र त्यागको गाथा हो । त्यसलाई कसैले होच्यायो भने हामी सहन सक्दैनौं । मैले यस्तो जनताको बलिदान र त्यागबाट आएको संविधानका सन्दर्भमा नै संविधान संशोधनको सन्दर्भमा संसदको भूमिकालाई धन्यबाद दिएको हुँ । देश हित विपरितको संविधान संशोधनको प्रस्तावलाई संसदले अस्वीकृत गर्यो । आधारभूत रुपमा यो संसद ठीकै छ तर उपयुक्त सरकारलाई अड्याउन सक्दैन र अनुपयुक्त सरकार बनाउँछ । बनावटका कारण संसद यसमा अभिसप्त छ । हामीले भनेका छौं समयक्रममा कमी कमजोरी भए संविधान संशोधन गर्न सकिन्छ । समयक्रममा तर्कपूर्ण र तथ्यपूर्ण परिमार्जन गर्न सकिन्छ ।

नेपाली जनताको चाहना बमोजिम संविधान संशोधन हुनसक्छ । तर अरुको निर्णयका आधारमा, अरुले भनेका आधारमा संविधान संशोधन हुँदैन, गरिदैन । अहिले हामी संक्रमणकालमा छौं, सक्रमणकालीन व्यवस्थाको कार्यान्वयन गर्ने हो । हिजोसम्म हामीले सबै ठाउँमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छौं । अव हामी प्रदेश र संघीय संसदको निर्वाचनमा जाँदैछौं । म गम्भीरतका साथ भन्न चाहन्छु सरकार अहिले पनि प्रदेश र संघीय संसदको निर्वाचन गर्न चाहँदैन भन्ने देखिदैछ, नगर्न षड्यन्त्र गरिरहेको छ । प्रदेश र संघको निर्वाचन नगराउने षड्यन्त्र हुँदैछ । हिजो प्रधानमन्त्रीले बोलाएको बैठकमा जाँदा म छक्क परेँ । यतिबेला आएर एउटै मतपत्र कसरी भयो ? समानुपातिक, संघीय र प्रदेशको एउटै मतपत्र कसरी हुनसक्छ भन्ने उठाइयो ।  हिजो सहमति गरेको होइन ? अनि आज फेरि मतपत्र एउटै भन्ने ? निर्वाचन गर्न नचाहने मनसायसहित यो मतपत्रको कुरा झिकियो । किनकी अव अरु मतपत्र छाप्न त समय छैन । मैले यो मतपत्रको कुरा नझिक्नुहोस्, कि सिधै निर्वाचन गर्न चाहन्नँ भन्नुहोस् भनेँ । म चेतवानी दिन चाहान्छु निर्वाचन नगराउने षड्यन्त्र सफल हुनेछैन ।
लोकतन्त्रलाई सहज ढंगले अघि बढ्न नदिने प्रयास हो यो । म लोकतन्त्रलाई अवरोध नगर्न चेतावनी दिन चाहान्छु । यदि संविधान कार्यान्वयनमा, लोकतन्त्रलाई सुदृढ बनाउने कुरामा व्यवहारमा गडबड भयो भने, तलमाथि भयो भन,  एमालेले के गरेर देखाउँछ भन्ने चेतावनी पनि दिन चाहन्छु ।
यो खान जन्मेको सरकार हो, काम गर्न जन्मेको होइन । दुई मन्त्री फेरि थप्यो । किन थप्नुपर्यो ? अझै अरु मन्त्री खान तयार छन् । के करणले मन्त्री थप्नुपर्यो ? ५४ लाई के भएर ५६ पार्नुपर्यो ? केही नबोल्ने हो, नभन्ने हो भने त अपराधिक संगठनका सबैलाई यो गठबन्धनले मन्त्री बनाउँछ । तर चुनावको मुखमा एमालेले यस्ता गतिबिधिलाई सहन गरेको छ । हामी हेर्नेलाई लाज भएको छ । तर गर्नेलाई लाज छैन । अस्ती एकजनाले मलाई भन्दैथिए– हामी गर्नेलाई लाज छैन, तपाईंहरु देख्ने किन लाज मान्नुहुन्छ भनेर ।

हिजो मैले ४० जनाको मन्त्रिपरिषद् बनाउँदा एकथरी मिडिया र बुद्धिजीविले टोपी फुकालेर आँशु झारे, कोकोहोलो मच्चाए । अहिले ५६ को पुर्याउँदा के के भन्छन् भनेको त, तिनीहरु कुनातिर पसे, चुप लागेर अर्कातिर फर्किए । एमालेबिरुद्ध आरोप लगाउने, आलोचना गर्ने केही नभएपछि एमालेले भ्रष्टाचारका बारेमा बोलेन भन्दै फेरि तिनै हिंडे । केपी ओलीले आपूर्ति मन्त्रीलाई फोन गरेको जस्ता गलत समाचार लेखाउँदै हिंडे । ती सबै गलत भएपछि एमालेको आलोचना गर्ने केही बिषय पाएनन् ।  केही बुद्धिजीवि र मिडिया एमालेबिरुद्ध, राष्ट्रिय एकता र समृद्धिका बिरुद्धमा निरन्तर लागेका छन् । ती सबै मिसनमा सञ्चालित छन् ।
एमालेले आयल निगमको जग्गा खरिदबारे बोलेन भन्छन् । जग्गा खरिदमा भ्रष्टाचार भयो कि भएन ? एमाले किन बोलेन ? एमाले प्रष्टसँग बोलेको छ र बोल्छ । एमाले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ भन्ने पार्टी हो । जग्गा खरिदमा एकजना मन्त्री मुख छोपी गएका हुन् कि होइनन् ? सरकारलाई यो थाहा छ कि छैन ? सरकारलाई जानकारी छ कि छैन ? कारवाही भरियालाई गर्यो, भारी बोकाउनेलाई कारवाही किन नगरेको ? भरियालाई पनि कारवाही गरेको होइन, पदबाट हटाएको मात्रै हो । भारी बोकाउनेलाई कारवाही गर्नुपर्छ कि पदैन ? मुख छोपी को गएको छ ? संलग्नता कस कसको छ ? तिनलाई कारवाही हुनुपर्दैन ?
एमाले भ्रष्टाचारको बिरुद्धमा छ, सुशासनको पक्षमा छ । एमालेलाई आरोप लगाउन नपाएपछि नक्कली फेसबुक आइडी बनाएर एमालेमाथि हमला भएको छ । यहाँ प्रश्न एमालेमाथिको आक्रमणको मात्र छैन, लोकतन्त्रको छ । सामाजिक सद्भाव विगार्न, राष्ट्रिय एकता खण्डित गर्ने तत्व क्रियाशील छन् । यसमा हामी होसियार हुनुपर्छ ।

हामीले हाम्रो राष्ट्रिय स्वभिमानमा गर्ब गर्नुपर्छ । नेपाल कहिले पनि उपनिवेश नभएको, पराधीन नभएको र गौरवपूर्ण इतिहास भएको देश हो । त्यसलाई बिगार्न दिनुहुँदैन, हामी दिंदैनौं । एमाले स्वार्थी उद्धेश्यका साथ अघि बढेको छैन, एमालेका स्वार्थी उद्धेश्य छैनन्, एमालेका राष्ट्रिय उदेश्य छन् । तिनलाई पूरा गर्न अघि बढेको छ । यो सरकारले डेढ बर्षअघि नियुक्त भएका ११ जना न्यायाधीशबिरुद्ध मुद्धा हाल्यो । न्यायलयमाथिको सत्ताधारीको हमलालाई एमालेले सहंदैन । एमालेले त्यसको जबाफ दिनु पर्यो भने चर्कोगरी दिनेछ । न्यायलय बिरोधी तत्वले एमाले अण्डरमाइन गर्ने, उपेक्षा गर्ने शक्ति होइन भन्ने थाहा पाइराखे हुन्छ ।

यो सरकारले नागरिक उडड्यन प्राधिकरणका प्रमुख सञ्जीव गौतमलाई स्पष्टीकरण सोधेको सुनेँ । स्पष्टिकरणको व्योहोरामा पोखरामा एयरपोर्ट बनाउने बुँदा रहेछ । किन पोखरामा एयरपोर्ट बनाउनु पर्यो ? त्यहाँ एयरपोर्ट बनाउनु हुँदैन, किन बनाउन पर्यो ? भन्दै स्पष्टिकरण सोधिएको रहेछ ।  म यो अपराधी र भ्रष्ट गठबन्धनलाई भन्न चाहान्छु– सावधानीपूर्वक अघि बढ्ने अवस्थामा फर्क, नत्र एमालेले जबाफ दिनेछ । राणा, राजशाही, कांग्रेसका तानाशाही र ज्यादतीबिरुद्ध लडेको एमाले यस्ता अपराधिक गठबन्धन बिरुद्ध लड्न सक्छ ।

म नेपाली कांग्रेसलाई भन्न चाहन्छु कांग्रेसले मुखमा राम राम बगलीमा छुरा बन्द गरोस् । नत्र त्यसको मुल्य कांग्रेसलाई चर्को पर्छ । त्यो कांग्रेसले फिल्डमा देख्नेछ । निर्वाचनको तीन दिनअघि ६० जना सिडिओ फेरियो । अहिले किन फेरियो ? प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग किन ल्याइयो ? राज्यका सबै अंगलाई कार्यकारीको मातहत ल्याउने, राज्यका अंगलाई कार्यकारीको बशिभुतमा राख्ने काम कुनै हालतमा एमालेलाई मान्य छैन । ११ जना न्यायाधीशमाथि मुद्दा दर्ता भयो । कसरी गरियो ? भोलि अरु न्यायाधीशमाथि यस्तै मुद्दा कसैले हाल्यो भने दर्ता हुन्छ कि हुन्न ? त्यस्ता सबैखाले षड्यन्त्रलाई एमालेले पराजित गर्छ भन्न म चाहान्छु ।

यो सरकारले भ्रष्टाचारको सिमा पार गर्यो । भ्रष्टाचार खुलेआम भयो । भ्रष्टाचार नियन्त्रण गरोस् भन्न चाहन्छु । संविधान जारी भएको ठीक दुई बर्ष पुरा भयो । यसको कार्यान्वयन गरिन्छ । कार्यान्वयन नगर्नेलाई दशा लाग्छ ।

अव ७ वटै प्रदेशमा एमालेको बहुमतको सरकार बन्छ । केन्द्रमा पनि एमालेको बहुमतको सरकार बन्छ । त्यसपछि मुलुक बिकास र समृद्धिको बाटोमा अघि बढ्छ । एमाले देशको समृद्धि र विकास, एकता, स्वतन्त्र र राष्ट्रिय सार्बभौमिकताको रक्षा गर्ने पार्टी हो । अपराधिक र मुलुक खान पल्केकाहरु अव समाप्त हुन्छन् । त्यसमा लाग्न म तपाईहरुलाई आग्रह गर्न चाहान्छु ।

(इन्द्र भण्डारीको अध्यक्षतामा एमाले सम्पर्क मञ्च प्रदेश न. १ संविधान दिवस र दशैं शुभकामना कार्यक्रममा ओलीले गरेको सम्बोधनको अंश)  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah