बिहानीको झुल्के घामसँगै नुवाइधुवाइ गरी चित्त शुद्ध बनाएपछि सिन्धुपालचोक, बाँडेगाउँका भरतप्रसाद तिमिल्सिनालाई जमरा राख्ने हतारोले छोप्यो । सफा माटो टहराको एउटा कुनामा खन्याएपछि उनी जमरा राख्न जुटे । उनले दियो जगाए, कलश खडा गरे, अनि गणेश पुजे । तामाको घडामा गोबरका ११ रेखा कोर्दै त्यसमा जौ टाँसेपछि उनले माटोमा गहुँ, जौ र मकै छरे ।

    ५७ वर्षीय तिमिल्सिनाले उमंगका साथ विधिसम्मत जमरा राखेर जस्ताको अस्थायी टहरोमा दसैंको स्वागत गरेका छन् । ‘जमरा त राखियो, उम्रने पो हो कि होइन’, उनले भने, ‘उम्रिहाले पनि सप्रन्छ कि सप्रन्न ।’ जमरा सप्रिहाले पनि हरियो होला भन्ने अर्को डर छ उनमा । इन्द्रावती गाउँपालिकाका तिमिल्सिना परिवारले टहरोमा दसैं मनाउन थालेको यो तेस्रो वर्ष हो ।
‘पोहोर दुःख गरेर टहरोमा बल्लतल्ल हुर्काएको जमरा हरियो भएर जात्रै भो,’ उनले भने, ‘यो साल पनि त्यस्तै हुने छाँट छ तर त्यस्तो नहोस् भने कामना छ ।’ टहरोमा शीत चुहिँदा र स्याँठ छिर्दा जमरा हुर्काउन सकस पर्ने गरेको उनी सुनाउँछन् । उम्रिहाले हावा र घामको प्रकाश छिर्दा जमरा हरियो हुन्छ । जमरा पहेंलो लगाउने चलन छ । ‘निधारभरि रातो टीकासँग पहेंलो जमरा लगाउन पाइएन भने दसैंको के मज्जा,’ घर बनाउन नसक्दा यो दसैंमा पनि टहरोमै जमरा राख्न बाध्य भएको उनले सुनाए ।
भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक, दोलखा, काभ्रे, नुवाकोट, रसुवा, गोरखा, धादिङलगायत जिल्लाका पीडितले जस्तापाता, त्रिपाल र स्याउलाको अस्थायी टहरोमा जमरा राखेर दसैंको स्वागत गरेका छन् । टहरैमा भए पनि दसैंको उमंग भिœयाउन तल्लिन छन् पीडित । २०७२ वैशाख १२ गतेको  भूकम्पपीडित अधिकांशले घर बनाउन नसक्दा अघिल्ला वर्ष झै यसपल्ट पनि टहरोमै दसैं, तिहार जस्ता चाडबाड मनाउँदै छन् ।
बिहीबार घटस्थापनासँगै शैक्षिक संस्थामा बिदा दिइएको छ । केटाकेटी चंगा फहराउँदै टहरोको माथि–माथि पु¥याएर दसैं बोलाउँदै छन् । पिङ थाप्न गाउँ–गाउँमा बाबियो, पैसा उठाउने लहर चलेको छ । बजारमा किनमेल गर्नेको घुँइचो लागिरहेको छ । सातादेखि गाउँबस्तीमा दसैं मसलाको मिठो बास्ना फिँजिइरहेको छ । भूकम्पपीडित गच्छेअनुसार तोरी पेल्ने, चिउरा कुट्ने, नयाँ कपडा किन्न चटारोमा छन् ।
बाँडेगाउँकै माधवप्रसाद कोइरालाले पनि जमरा राखेर टहरोमा दसैं भिœयाए । टहरोमै भए पनि हाँसीखुसी दसैं मनाउने उनी बताउँछन् । ‘चाडबाड हो, टहरोमा पनि रौनक आउने रहेछ,’ उनले थपे ।
भूकम्पले सिन्धुपालचोकका ९५ प्रतिशतभन्दा बढी संरचना ध्वस्त बनाएको थियो । अधिकांश पीडित अझै टहरोमा छन् । जनजाति बाहुल्य जिल्ला भए पनि दसैं, तिहार जस्ता चाडबाड मनाउने समुदायको हिस्सा धेरै छ । पुनर्निर्माणले गति नदिँदा अधिकांश पीडित टहरोमै दसैं मनाउन बाध्य भएका हुन् ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार सिन्धुपाल्चोक झन्डै ८० हजार लाभग्राहीमा पहिलो किस्ता लिने अधिकांशले पुनर्निर्माण थालेका छैनन् ।
२०७३ वैशाख १२ गते पुनर्निर्माण अभियान सुरु भएयता आफू खुसी पुनर्निर्माण सकेका झन्डै १० हजार परिवारले मात्र घरमा चाडबाड मनाउँदै छन् । १७ हजार ९ सय ११ घरसंरचना मात्र निर्माणाधीन छन् । १३ हजार ३ सय ६० लाभग्राहीले दोस्रो किस्ता पाउँदा १ हजार ८ सय १२ को हातमा मात्र तेस्रो किस्ता परेको छ । अझै पुनर्निर्माण थाल्न नसकेका ५० हजारभन्दा बढी पीडित परिवारले यो दसैं टहरोमै मनाउँदै छन् । अनुदान रकम चाँडै लिन र पीडितलाई जागरुक बनाउन तेस्रो किस्ताको रकम गाउँपालिकाको जिम्मा दिने योजना बनाइएको छ ।
०००
यही तालले ५० वर्ष लाग्छ

गोरखामा पुनर्निर्माण गति यति सुस्त छ कि गएको एक वर्षमा निर्माण पूरा भएका घरको आधारमा पुनर्निर्माण गर्नुपर्ने सबै संरचना तयार हुन ५० वर्ष लाग्छ । पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदान वितरण गर्न थालेको करिब वर्ष दिनमा गोरखामा एक हजार दुई सय घरपरिवारले मात्रै तेस्रो किस्ताको अनुदान लिएका छन् ।
करिब ६० हजार घर भत्किएको यहाँ केही घर छुटेको भन्दै अहिले पनि पुनः सर्वेक्षण भइरहेको छ । झन्डै ५४ हजार घरले पहिलो किस्ताको रकम लिइसके । पुनः सर्वेक्षण भएका घरसहित पुनर्निर्माण हुँदा यस वर्षको गतिलाई हेर्ने हो भने करिब वर्ष दिनमा एक हजार दुई सयको अनुपातले ६० हजार घर निर्माण पूरा हुन ५० वर्ष लाग्ने देखिन्छ । अहिलेसम्म आठ हजार पाँच सय घरधुरीले दोस्रो किस्ता लिएका छन् । दोस्रो किस्ता लिनेको संख्या वर्ष दिनमा यो अनुपातमा रहनु निकै थोरै हो । आउँदो वर्ष पनि यही अनुपातमा वितरण हुने हो भने गोरखाका सबै घरले दोस्रो किस्ता लिन सात वर्ष लाग्छ । अझै यहाँको लाप्राकमा एनआरएनले एकीकृत नमुना बस्ती निर्माण गरिदिएको छ भने केरौंजालगायत केही गाउँ नै स्थानान्तरण गर्नुपर्ने छ ।
सरकारले गत पुस महिनाभित्र पहिलो किस्ता लिएकाले आउँदो पुस मसान्तभित्र घर पूरा गरी तीन किस्ता लिन आग्रह गरिरहेका बेला गोरखामा भएको पुनर्निर्माणको सुस्तताले समस्या ल्याउने भएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयले पनि अस्थायी अवासका लागि भवन डिभिजन कार्यालयले उपलब्ध गराएको डिजाइन अनुसारकै अस्थायी टहरा निर्माण गर्नुपर्ने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले अनुदान रकम चाँडै लिन र पीडितलाई जागरुक बनाउन तेस्रो किस्ताको रकम गाउँपालिकाको जिम्मा दिने योजना बनाएको बताए । गाउँपालिकाले भूकम्पपीडितको घरको तेस्रो किस्ताको जिम्मा लिए निर्माण पूरा नहुँदा पनि पीडितले  अनुदान पाउँछन् । तर अनुदान लगेर घर निर्माण नगरे गाउँपालिकाको बजेटबाट कटौती हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल बताउँछन् ।
विभिन्न दातृ संघसंस्थाको सहयोगमा बनेका सामुदायिक भवन, विद्यालय र केही स्वास्थ्य संस्थाका अस्थायी संरचना भने निर्माण भइसकेका छन् । विद्यालय पुनर्निर्माणमा भने गोरखा भूकम्प प्रभावित अन्य जिल्लाको तुलनामा आगाडि छ । दुई सय पाँचवटा विद्यालय पुनर्निर्माण सम्पन्न भइसकेको गोरखामा ४६ वटा निर्माण क्रममा छन् भने ४४ वटा बन्ने स्रोत पक्का भएको छ । अझै एक सय ४९ विद्यालय पुनर्निर्माणका लागि बजेट अभाव भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् । सुकुमबासीलाई जग्गा खरिद गर्ने अनुदान वितरण, बैंकबाट ऋण लिने प्रक्रियालाई कार्यान्वयन, गाउँगाउँबाटै पैसा दिने व्यवस्था, पुनः सर्वेक्षणमा गएका प्राविधिकलाई केही समय थपेर काम गर्ने निर्देशन दिनुपर्ने बताएका छन् । चौतर्फी समस्या भइरहेको र समाधान गर्न पनि सकिने भन्दै पुनर्निर्माण प्रमुख कार्यकारी अधिकृत पोखरेलले तत्काल घर बनाउन सुरु गरेर पुनर्निर्माणलाई सघाउन सर्वसाधारणलाई अनुरोधसमेत गरेका छन् ।

दसैं आउँदा मनै भारी
घटस्थापन सुरु भएलगतै वरपर दसैंले छोपेको छ । कटेरोअघिको ांगनमा केटाकेटी खेलिरहेका छन् ।
कटेरोका छेउमा दोलखा कालिन्चोकका ७० वर्षीय धनबहादुर कार्की टुसुक्क बसेका छन् । यही टहरोले दसैं आउनेबितिकै धनबहादुरको परिवारलाई नराम्ररी पिरोल्छ । मन भारी भएर आउँछ, अनेक कुरा खेल्न थाल्छन् । तै पनि परिवारको खुसीका निम्ती मुस्कुराउँँँँँँंछन् उनी ।

सदरमुकाम चरिकोट बजारबाट कालिञ्चोकतर्फ दुई किलोमिटर उकालो यात्रा गरेपछि सिमपानी नजिक सडकबाट ४० मिटर उकालोस्थित बिसौनामा पर्छ  धनबहादुरको घर । २०७२ सालको भुइँचालोले उनको घर लडायो । ढलेको घरभन्दा माथि बारीको पाटोमा कटेरो हाले उनले । कटेरोको पल्लो भाग कान्छो छोरा र ओल्लो भाग आफू र श्रीमतीका लागि छुट्याए । जेठो छोरो परिवारसहित राजधानीमा बस्छन् ।
भूकम्पपीडित अन्यको जस्तै जसोतसो कटेरोमा गुजारा चल्दै थियो उनको । भूकम्पमा बाँचेको यो परिवारमा त्यो दसैंको मुखमै एउटा बज्रपात आइलाग्यो । कान्छी बुहारी कुमारी केही सातादेखि थला परेकी थिइन् । छोरो माधव ज्यामी काम गर्थे । परिवारको रेखदेखको अभिभारा धनबहादुरकै काँधमा थियो । २०७२ असोजमा भर्खरै बनाईएको कटेरोमा कसरी दसंै मनाउने भन्ने तयारीमा थियो यो परिवार । उता बुहारी कुमारीलाई बिमारले च्याप्दै लगेको थियो । उनलाई जन्डिस थियो । अस्पताल लगियो ।कुमारीको उपचारमा यो परिवारले निकै खर्च गरेको थियो ।     टहरोमै बस्दाबस्दै दुई वर्षअघि असोज महिनामा बुहारी कुमारीको मृत्यु भयो । काखका साना नानी टुहुरा भए । माधवको जीवनको साइनो चुडियो । धनबहादुरले सहयोगी बुहारी गुमाए । त्यही साल धनबहादुरकी श्रीमती बालकुमारीलाई पनि मानसिक रोगले समायो ।

भूकम्पले घर लडाएको पीडा, त्यहींमाथि ३ वर्षको नाति मनीष र ४ वर्षकी नातिनी सोफियाले आमा गुमाउनु परेकाले भूकम्पपछिको पहिलो दसैं यो परिवारले मनाउन पाएन । त्यसयताका हरेक दसैंमा धनबहादुरलाई पीडा हुन्छ । ‘भुइँचालोयता पहिलो दसैंमा यही कटेरोमा बुहारी गुमायौं’, उनले सुनाए  । अघिल्लो साल कटेरोभित्रको चिसो र समस्याले बिरामी परेका कारण दसैंले धनबहादुरलाई खासै रमाइलो दिँदैन । उनी नातिनातिनीलाई हुकाइरहेका छन् । उनीहरूको खुसीका लागी दसैंका लागि एउटा बोका किनेका छन् । तर पनि उनलाई टहरोको दसैंं खल्लो हुन्छ ।
लाभग्राही सूचीमा धनबहादुरको मात्र नाम निस्कियो । दुवै छोराले गुनासो फाराम भरेका छन् ।
उनले थापेको पहिलो किस्ता घडेरी खार्दै सकियो । ‘तल सडक छेउको जग्गामा दुईकोठे घर बनाउन भनेर घडेरी खार्न थालेको ५० हजार सकियो’ उनले भने, ‘दोस्रे किस्ता लिनलाई जग हालेर (डिपिसी) गर्नैपर्ने कारण काम त्यसै रोकिएको छ ।’ रकम अभावका कारण ऋण काढ्न समेत नसकेको र घर बनाउने काम रोकिएको धनबहादुरले सुनाए । उनका अनुसार घर बनाउन नसकेका कारण यो वर्षको दसैंसमेत कटेरोमै कट्दैछ ।

२५ प्रतिशत घर पनि बनेनन्
भूकम्पबाट भत्एिकामध्ये दोलखामा २५ प्रतिशत घर पनि बनेका छैनन् । पुनर्निर्माण प्राधिकरणको तथ्यांक हेर्दा लाभग्राहीको सूचीमा परेका अनुदान प्राप्त गर्ने ५२ हजार ५ सय भूकम्पपीडितमध्ये १७ सय २२ जनाले मात्र तेसैो किस्ता बुझेको देखिन्छ ।    ‘अहिलेसम्म करिब १४ देखि १५ हजार घर बनिसकेको अनुमान गरेका छौं’, प्राधिकरणका जिल्ला प्रमुख सागर आचार्यले भने, ‘गाउँमा खटिएका इन्जिनियरमार्फत अध्ययन गरिरहेका छौं ।’ उनका अनुसार ४८ हजारले पहिलो किस्ता बुझेर लगिसकेका छन् । यस्तै ११ हजार ९ सय ७६ जनाले मात्र दोस्रो किस्ता बुझका छन् । उनले निर्माण सामग्री र दक्ष जनशक्ति अभावमा पुनर्निर्माणले गति लिन नसकेको बताउँछन् ।
सरकारले २०७५ असारभित्र निजी आवास निर्माण सक्न पीडितलाई अपिल गरे पनि सम्भव नभएको  अधिकारीहरू बताउँछन् । यस्तै घर निर्माणकै समयमा दोलखा जिल्लामा लामोसाँघु–जिरी सडक, दोलखा सिंगटी सडकसहित आधा दर्जन बढी करोडौं लगानीमा ठूला सडक आयोजना विस्तारसहित कालोपत्रे हुँदै गरेका कारण समेत निर्माण सामग्रीको चरम अभाव भएको जिल्ला समन्वय समितिका कर्मचारी बताए ।

पीडित आक्रोशित
किस्ता सिफारिस भएको तीन महिनासम्म पनि रकम नपाएपछि रसुवाका भूकम्पपीडित आक्रोशित भएका छन् । गोसाइँकुन्ड गाउँपालिका–६ ठाडेकी लाक्पायाल्मो तामाङको दोस्रो किस्ता सिफारिस भएको तीन महिना बित्यो तर अहिलेसम्म पनि रकम पाउन सकेकी छैनन् ।  उनले भनिन्, ‘घर जाँच्न आउनेले जाँचेर मात्र जान्छन् । किस्ता त कहिले पो आउने हो ?’
सरकारी मापदण्डअनुसार घर निर्माण गरे पनि धेरै पीडितले अनुदान पाउन सकेका छैनन् । प्राविधिकको सल्लाहअनुसार घर बनाए पनि किस्ता पाउन नसकेको गोसाइँकुन्ड–६, भिमलीका श्रीलाल तामाङले बताए । ‘५० हजार रुपैयाँ अनुदान रकम बुझेर घर निर्माण थालेको थिएँ, अहिले घर सम्पन्न हुँदासमेत दोस्रो र तेस्रो किस्ता पाउन सकिएन’, तामाङले भने, ‘इन्जिनियरले तीन पटकसम्म घर जाँच गरेर तीन दाजुभाइको घर सँगै जोडिएर बनेको भनेर किस्ता दिएनन् ।’
कतिपयले किस्ता पाएर घर निर्माण गरिसकेका छन् भने कतिपयको हकमा अहिलेसम्म अनुदान सम्झौतासमेत हुनसकेको छैन् । हाकुका उत्तम तामाङ सरकारलाई प्रश्न गर्छन्, ‘२८ महिनासम्म घर बनाउन नदिएर अनुदान सम्झौता किन नगरेको ?’ हाकुबासी २८ महिनादेखि गाउँ जान सकेका छैनन् । नेसिङबाहेक पूरै बस्तीका बासिन्दासँग आफ्नो नाममा लालपुर्जा नभएका कारण उनीहरूको सम्झौता हुन नसकेको हो । उनीहरूको जग्गा स्वयम्भू घ्याङ गुठीको नाममा छ ।

२८ महिनामा सात सय घर बने  
रसुवनमा अहिलेसम्म ६ प्रतिशत भूकम्पपीडितको आवास निर्माण सम्पन्न भएको छ । दुई वर्षमा १० प्रतिशत घर बनाउने लक्ष्य राखिए पनि त्यसअनुसार काम हुन सकेन । लाभग्राही सूचीमा परेका ११ हजार ६ सय २९ घरमध्ये भदौ मसान्तसम्म सात सय एक घर मात्र निर्माण सम्पन्न भएको देखिन्छ ।
लाभग्राही सूचीमा परेकामध्ये १० हजार ९७ जनाले मात्र सरकारी अनुदानका लागि सम्झौता गरेका  छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, रसुवाका अनुसार जिल्लामा अहिले दुई हजार पाँच सय ८२ जना लाभग्राहीले घर निर्माण सुरु गरेका छन् । दोस्रो किस्ताको रकमका लागि एक हजार सात सय ५० जना र तेस्रो किस्ताका लागि एक हजार २४ जनाको नाम सिफारिस भएको छ । जिल्लामा रहेका लाभग्राहीमध्ये नौ हजार आठ सय ३४ जनाले पहिलो किस्ताबापतको रकम लिएका छन् भने एक हजार ६ सय २९ जनाले दोस्रो किस्ता पाएका छन् । त्यस्तै ६ सय ८६ जनाले तेस्रो किस्ताबापतको रकम पाएका छन् ।

विस्थापित गाउँ जान पाएनन्
भूकम्पका कारण गाउँमा सुख्खा पहिरो झर्न थालेपछि थातथलो छाडेर हिँडेका पीडित अहिलेसम्म गाउँ फर्कन सकेका छैनन् । भूकम्पले जमिन चिराचिरा परेपछि पहिरोको जोखिम बढेको भन्दै जिल्लास्थित साबिक लाङटाङ, हाकु, डाँडागाउँ, ठुलोगाउँ, धुन्चे, राम्चे, धैबुङ र लहरेपौवा गाविसका चार सय भन्दा बढी घरधुरी विस्थापित हुन पुगेका थिए । तर  विस्थापितलाई गाँउ फर्काउने योजना अहिलेसम्म पनि बन्न सकेको छैन् ।
जिल्लामा भूकम्पका कारण ११ वटा वस्ती उच्च जोखिममा परेको भौगर्भिक अध्ययनबाट देखिएको छ । अध्ययनअनुसार साबिकका ७ वटा गाविसका १८ वटा बस्तीमा गरिएको अध्ययनबाट ११ वटा बस्ती आंशिक तथा पूर्ण जोखिममा परेको र एक सय ८७ घरधुरी जोखिममा परेको प्रतिवेदन आएको छ । ‘२८ महिनासम्म गाउँ फर्काउन सरकारले पहल थालेन् । तीनवटा पार्टीको सरकार फेरियो । तर पटकपटक पुनर्वासका लागि डेलिकेसन जाँदा पनि केही भएन् । हामीलाई भुटानी शरणार्थीलाई जति पनि व्यवहार भएन,’ हाकुका विस्थापित छेकु तामाङले भने ।

यसकारण बनेनन् घर
जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त मात्रामा निर्माण सामग्री समयमा पु¥याउन नसक्नु, करिब २५ प्रतिशत घर लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्नु, काठ बालुवा ढुंगालगायत सामग्री उत्खननमा रोक लगाउनु, अनुदान रकम समयमा नपाउनुजस्ता समस्याले पीडितले घर बनाउन नसकेका हुन् ।

महिनामा दुई घर पनि बनेनन्
धादिङमा भूकम्पपछिको पुनर्निर्माणले सोचेअनुरुप गति लिन सकेको छैन । प्रभावित पाल र जस्तामुनि नै छन् । पर्याप्त जनशक्ति अभाव र नीतिगत व्यवस्था नहँुदा पुनर्निर्माणले गति लिन नसकेको हो ।
भूकम्पपछि लाभग्राही सूचीमा परेका ७० हजार घरधुरीमध्ये ५९ जनाले मात्र तेस्रो किस्ताबापतको रकम पाएका छन् । १८ सयले तेस्रो किस्ताका लागि निवेदन दिएकोमा बाँकीको मापदण्ड नपुगेकोले सिफारिस रोकिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय, धादिङका प्रमुख दिलीप भण्डारीले बताए । ९ हजारले दोस्रो किस्ताका लागि निवेदन दिएकोमा ७ हजार ५ सयले मात्र दोस्रो किस्ताबापतको रकम पाएका छन् । बाँकी घरको पुनर्निर्माण कहिले हुने अत्तोपत्तो छैन ।
अहिले घर निर्माणका लागि मुख्य समस्या पानी, पुँजीे र प्राविधिकको छ, उनले भने, ‘कहिले वर्षा, कहिले सामग्रीको अभाव, कहिले इन्जिनियरले काम नगरिदिदाँ पुनर्निर्माणले गति लिन नसकेको हो ।’ पुनर्निर्माण कार्यमा स्पष्ट जिम्मेवारी नहुनु र जिल्ला दैवी प्रकोप उद्धार समितिको पुनर्निर्माण कार्यमा भूमिका स्पष्ट उल्लेख नहुनुले पनि कामले गति लिन नसकेको उनले बताए ।

दैवी प्रकोप उद्धार समिति धादिङका अनुसार जिल्लामा रहेका ८८ हजार ५ सय ४१ घरमध्ये ८१ हजार ३ सय १३ घर पूर्ण रुपले क्षति भएको तथ्यांक छ । केन्द्र्रीय तथ्यांक विभाग (डिएनए) को प्रतिवेदन अनुसार धादिङमा ७० हजार पाँच सय ८१ लाभग्राही अनुदान प्राप्त गर्न योग्य छन् । भूकम्पपछि पहिलो किस्ता लिएर दुई वर्षपछि ५९ जनाले घर निर्माण सम्पन्न गरेका छन् । सरकारले भूकम्पपछिका पाँच वर्षमा निर्माण सक्ने लक्ष्य छ ।
निर्माण सामग्री महंगो हुनु र भनेको समयमा उपलब्ध नहुनुले पुनर्निर्माणले गति लिन नसकेको देखिन्छ । गजुरीकी भेषकुमारी थापा भन्छिन्, ‘गाउँमा सबैको घर बनाउनुपर्ने, न कामदार छ न सामग्री नै ।’ उनी आफैंले डकर्मी तालिम लिन थालेकी छिन् । आफू तालिम लिएर आफैं घर निर्माण गर्ने बताइन् । गाउँमा पानीका कारण पनि निर्माण काम रोकिएकाले खानेपानी, स्वच्छता र सरसफाई क्षेत्रमा थप लागानी आवश्यक रहेको उनले बताइन् ।

ध्रुव दङ्गाल÷सिन्धुपाल्चोक
नरहरि सापकोटा÷ गोरखा
रमेश खतिवडा÷ दोलखा
हिमनाथ देवकोटा÷ रसुवा

नागरिकन्युज बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah