तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एकमात्र महानगर बीरगन्जको मेयर पदमा संघीय समाजवादी फोरमका विजयकुमार सरावगीले जित हासिल गरेका छन् । यस अघि राजनितिमा खासै सक्रिय नरहेका उनले विकास गर्नकै लागि पार्टी प्रवेश गरेर मेयर पद आफ्नो पोल्टामा पारेका हुन् ।
राजनीति गर्नेबाट लामो समयम्म बिकास नभएका कारण आफु राजनितिमा आएको बताएका सरावगीको बैंक तथा वित्तीय संस्थाका साथै बीमा कम्पनीमा ठूलो लगानी छ । राजनितिज्ञले विकास नगरेको भन्दै चुनाव लड्नका लागि नै सरावगी संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । त्यस अघि उनी नेपाली काँग्रेस निकट थिए ।
सरावगीले ३० वर्षदेखि राजनीति गरेका २०४९ सालका बीरगञ्जका उपमेयर कांग्रेसका अजय द्विवेदीलाई हराएका हुन् । मधेश आन्दोलनका सक्रिय राजेशमान सिंहदेखि बीरगन्जका पूर्वमेयर विमल श्रीवास्तव तथा सामाजिक संजालमा अधिक रुचाइएका माओवादीका रहबर अन्सारीका साथै एमालेका बस्रुदिन अन्सारी समेतलाई व्यवशायी सरावगीले हराएर बाजी मारेका हुन् ।
वीरगन्ज महानगरको ७० प्रतिशत ग्रामीण र ३० प्रतिशत सहरी क्षेत्र रहेकोमा ७० प्रतिशत भू–भागलाई स्याटेलाइट सिटी बनाउने घोषणा गरेका थिए । सोही अनुसार ब्यापार, उद्योग र कृषिका पकेट क्षेत्र निर्माण गर्ने प्रतिबद्धता उनले निर्वाचन पहिले नै गरेका थिए । उनले बीरगन्जको बिकासको लागि ५ वटा नारा अघि सारेका थिए । बेरोजगारी अन्त्य, बाटो, बिजुली र बैंक उनका प्रमुख नारा थिए । २० वर्षमा हुन नसकेको विकास ५ वर्ष गरेर देखाउने बताएका उनको आगामी दिन कस्तो हुन्छ भन्न पाँच वर्ष कुर्नु पर्ने हुन्छ ।



