११ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंतिहारको अवसरमा मर्मस्पर्शी शुभकामना सन्देश दिएका छन् । राज्यका संयन्त्रहरुको राजनीतिकरण भइरहेको, राज्यप्रतिको विश्वास र भरोसामा ह्रास आइरहेको र पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हुनुपर्ने परिस्थिति आएकोमा चिन्ता व्यक्त गर्दै पूर्वराजा शाहले यो देशका लागि शुभ संकेत नभएको उल्लेख गरेका छन् ।

पारस्परिक विश्वास, सम्मान र एकताले मात्र सम्वृद्धिको यात्रामा अगाडि बढ्न सकिने सुझाव दिँदै पूर्वराजा शाहले भनेका छन्– ‘तर देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने हाम्रो चाहना अझै पुरा हुन नसकेकोमा हामी दुःखी छौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले राजनीतिक दलहरुप्रति कडा प्रश्न गर्दै अगाडि भनेका छन्– ‘दुरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमतमार्फत खोज्न हिचकिचाउनुलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां पुर्याउंछ ? पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हुनुपर्ने जुन परिस्थिति बनाइएको त्यसको जिम्मेवारी कसले लिने

यस्तो छ पूर्वराजा शाहको शुभकामना सन्देश

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाई, समस्त नेपालीजनको महान चाँड विजया दशमीको उपलक्ष्यमा हामी देशभित्र र देश बाहिर रहे बसेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सूख, शान्ति र सफलताका लागि शूभकामना व्यक्त गर्दछौं ।

पारस्परिक विश्वास, सम्मान र एकताले मात्र हामी सम्वृद्धिको यात्रामा अगाडि बढ्न सक्छौं । तर देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने हाम्रो चाहना अझै पुरा हुन नसकेकोमा हामी दुःखी छौं । राष्ट्रिय स्वाभिमान सहितको प्रगति, नेपाली जनताले चाहेको हो । दुई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सुन्दर नेपाल, सेतु राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हुंदैं आएको अनुभव, नेपाली जनतामा हुनु सुखद विषय हुँदै होइन । त्यसैले, एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहां स्वाभिमान गुम्ने र सम्वृद्धि छाडिने स्थितिको सामना हामीले गरिरहनु परेको छ ।

मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्थापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइरहेकोप्रति हामी गम्भिर बन्नू परेको छ । राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौं ।

राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हूनू आवश्यक भई सकेको छ । दुरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमतमार्फत खोज्न हिचकिचाउनुलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां पू¥याउछ ? पहुंच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हूनू पर्ने जून परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ? यस्ता अनेकौं प्रश्नहरु जनमनमा रहंदा रहंदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरि तर्कन खोजेको अनूभुति हामीले गरेका छौं ।

श्री नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरा होस्, यही मेरो कामना छ ।