रोल्पा, १५ असोज । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले प्रतिपक्षी नेकपा एमालेसँग पार्टी एकता हुनसक्ने बताएका छन् ।
एमालेको आज बसेको स्थायी कमिटीले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने निर्णय गरेका बेला रोल्पा पुगेका नेता पुनले लिवाङमा आइतबार प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेसँग तालमेलभन्दा पनि पार्टी एकता हुनसक्ने बताएका हुन् ।
एजेण्डा र मुद्दाका हिसाबले दुवै दल समाजवादी क्रान्तिको बाटोमा अगाडि बढेकाले तालमेलभन्दा पार्टी एकता गर्नै सजिलो हुने उनको धारणा छ ।
‘दुवै पार्टीले पुँजीवादी क्रान्ति पुरा भएको र अब समाजवादी क्रान्ति पुरा गर्न अगाडि बढ्ने प्रण गरेको अवस्थामा दुवैको बाटो मिल्ने देखियो । त्यकारण दुबै पार्टीको नेतृत्वले चाँहे पार्टी एकता हुनसक्छ,’ नेता पुनले भने । दैनिक नेपाल बाट



