अरु दसैंका बेला घर आउँछन्, खेम शर्मा भने अष्ट्रेलिया फर्कंदै थिए।

नेपाल आएका बेला आमाबाबुलाई भेटन जम्मा दुई घण्टाको समय निकालेर चितवन भरतपुरस्थित घर पुगे। आमाबाबुले केही गुनासो गरेनन्।

सोमबार राति ११ बजे खेम उड्दै थिए। त्यही साँझ त्रिभुवन विमानस्थलको गेटैअगाडि होटलमा खेमसँग भेट भयो।

विमानस्थल खेमका लागि कर्मथलो अष्ट्रेलिया र जन्मथलो नेपाल आउने माध्यम मात्र होइन, खेमको पहिचान पनि हो। दुई महिनाअघि उनले यही एयरपोर्ट सफा गरेर चर्चा बटुलेका थिए। त्यहीँका कर्मचारीको सहयोगमा एक महिना निरन्तर सफा गरेपछि एयरपोर्टको रुपै फेरिएको थियो। जब खेमको कौशल र मेहनत पोखियो, शौचालयदेखि यात्रु प्रतिक्षालयसम्मका भुइँ–भित्ता टल्किए। अहिले उनी पशुपतिनाथको सरसफाइमा जुटेका छन्। पशुपति क्षेत्र विकास कोषको पहलमा करिब एक महिनाअघि सुरु भएको पशुपतिनाथ सरसफाइ सय दिनसम्म निरन्तर चल्नेछ।

खेम यही एयरपोर्टबाट दस वर्षअघि अष्ट्रेलिया उडेका थिए।

रत्न राज्यलक्ष्मी क्याम्पसबाट आइए सकेपछि आइटी विषय रोजेर अष्ट्रेलिया जाँदा उनीसँग उति चम्किला सपना थिएनन्। ‘एउटा माग्नेले पैसै नभए पनि अर्को मान्छेसँग आश गर्छ नि, हो त्यस्तै आश मात्र थियो,’ उनी भन्छन्, ‘केही बन्नुपर्छ भन्ने धमिलो सोच थियो, तर यही बन्छु भन्नेचाहिँ थिएन।’

ठूलो र धनी देश भएकाले त्यहाँ गएपछि केहि राम्रो होला भन्ने उनलाई लागेको थियो। ‘यहाँबाट जाँदा यतिचाहिँ सोचेको थिएँ, अष्ट्रेलिया जाँदा लिएको ऋणको ब्याज सुरूदेखि नै तिर्न सक्नुपर्छ।’

विदेशमा ‘पढ्न’ गएपनि धेरै नेपालीको सपना पैसा कमाउनुनै हुन्छ। खेमको उद्देश्य पनि त्योभन्दा फरक थिएन। तर, काम के गर्ने, कस्तो काम पाइन्छ, कति कमाइन्छ केही थाहा थिएन।

अष्ट्रेलिया पुगेको तेस्रो दिनमै उनले आफन्तको सहयोगमा सिड्नीको एउटा युनिभर्सिटीमा सरसफाइको काम पाए। सुरुको दिन निकै सकस व्यहोरे पनि दोस्रो दिनबाट कामलाई आनन्दको रुपमा लिएको उनी सुनाउँछन्।

मानविकी पढेका खेम आइटीमा रमाउन सकेनन्। ६ महिनामै छोडिदिए र बिजनेस पढ्न थाले।

पढाइ फेरियो, काम भने फेरिएन।

सरसफाइको काम गर्दै जाँदा उनको मनमा अनेकन प्रश्न छड्किन थाले, ‘म अष्ट्रेलिया आउन त आएँ तर जागिर खानु, पैसा कमाएर घर पठाउनु मात्रै मेरो उद्देश्य हो त? म ‘लक्की’ बन्ने कि ‘लक्की’ बनाउने पनि ?’

‘किनकि, पढाइ र जागिर उद्देश्य हैनन्,’ उनी भन्छन्, ‘यी त आफ्नो सपना पूरा गर्ने यात्राको बाटो मात्र हुन्। डिग्री लिनु र जागिर पाउनु उपलब्धि होइन, यसपछि के गर्ने त्यो महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ।’

एसएलसी सकेपछि मानविकी पढे पनि उनको मन रमाउने क्षेत्र भने व्यापार र नेतृत्व थियो। स्कुल पढ्दै गर्दा स्टेसनरी पसल चलाएको अनुभवले उनलाई अष्ट्रेलियामा पनि व्यापारको ‘आइडिया’ दिलायो।

उनले सोचे, व्यापार एउटा त्यस्तो क्षेत्र हो, जहाँ नेतृत्व पनि गर्न पाइन्छ, अरुलाई जागिर पनि दिन सकिन्छ।

‘अर्को कुरा, हामी नेपाली गोरो छाला देख्नेबित्तिकै आफूलाई कमजोर सोच्छौं,’ उनी भन्छन्, ‘नेपालीले फरक भूमिमा भए पनि आफ्नो ब्रान्ड स्थापित गर्न सक्छन् र गर्नुपर्छ भन्ने आँट र अठोटचाहिँ काम गर्दै जाँदा बनेको हो।’

पाँच वर्ष लगातार सरसफाइको काम गरेका खेमले आफ्नो योजनाको खाका कोर्न थाले। आफूले जानेकै कामलाई व्यवसाय बनाउने उनको योजना बन्यो। अन्ततः उनले जागिर छोडे र कम्पनी दर्ता गरे, ‘खेम्स क्लिनिङ’।

सुरूका केही महिना आफैं मालिक, आफैं श्रमिक भएर काम गरे। जागिर खाँदाको सम्बन्ध व्यवसाय चलाउँदा काम आयो। घर, कलेज, कार्यालय ठेक्कामा लिएर सरसफाइ गर्न थाले। दुई–तीन महिनापछि ठेक्काको काम बढ्न थाल्यो। सुरुमा उनले नेपालीलाई काम दिए। विस्तारै व्यवसायले ठूलो क्षेत्र ओगट्न थाल्यो। अहिले उनी फरक–फरक देशका ७० जना कामदारका ‘मालिक’ भएका छन्।

उनले अष्ट्रेलियामा सानै ‘सर्कल’मा सही, व्यवसायमा आफूलाई स्थापित गरे। नेपाली नामको कम्पनीबाट अष्ट्रेलिया सफा गरे।

‘म सरसफाइ काममा किन रमाएँ भनेर पनि भनिहालुँ,’ उनले सुनाए, ‘मैले नेपाल छँदै दुःखको पराकाष्ठा भन्छन् नि, त्यतिसम्म दुःखको काम गरेको छु। तर अचेल म कामलाई दुःख भन्दिनँ। अल्छीहरु मात्र कामलाई दुःख भन्छन्। काम भनेको गन्तव्यमा पुग्ने प्रक्रिया हो भन्ने ठान्छु। जसरी सगरमाथा चढ्नेहरुले यात्राका कठिनाइलाई दुःख मान्दैनन्, कामलाई दुःख भन्नुहुँदैन।’

विगतका भोगाइले नै आफूलाई ‘केही गर्नुपर्छ’ भनेर सधैं उत्प्रेरित गरेको खेम बताउँछन्।

तर, त्यो कस्तो दुःख थियो?

खेमले खुलाउन चाहेनन्। केहीबेरको कर–बलपछि खेम केही खुल्न आँटेका थिए, तर उनको वाक्य फुटेन। देब्रे मुठ्ठी कस्दै भने, ‘प्लिज! यसबारेमा पछि कुरा गरौंला। अहिले मलाई गाह्रो हुन्छ।’

आर्थिक अवस्था नै दुःखको कारण थियो? खेमले आफ्नो मुन्टो तलमाथि हल्लाएर ‘हो’ को संकेत मात्र दिए, कथा खुलाएनन्।

‘यति भनुँ, त्यही कारण म साना चिजहरुमा पनि रमाउन सिकेँ, उद्देश्य बनाउन सिकेँ,’ उनले भने, ‘म कोही माग्ने देख्दा पनि आफूसँग तुलना गर्छु। म ठूला र सफल भनिएका मान्छेबाट भन्दा गुमनाम र पहिचानविहिन मान्छेबाट बढी उत्प्रेरित हुन्छु।’

बाबुबाट उनले एउटा मन्त्र पाएका थिए, भोलि कुनै क्षेत्रमा सफल भएको खण्डमा व्यक्तिगत स्वार्थ मात्र नहेर्नू, देशका लागि पनि केही गर्नू।

उनका बाबु समाजसेवा गर्न चाहन्थे, तर सकेनन्। आफ्ना छोराहरुले समाजसेवा गरेको देख्ने उनको धोको थियो। अष्ट्रेलियामा व्यवसायले राम्रो मुनाफा दिन थालेको थाहा पाउँदा बाबु जति खुसी थिए, छोरासँगको एउटा अपेक्षा भने कहिल्यै सुनाउन छोडेनन्, ‘देशको लागि केही गर्नू है बाबु!’

उनको मनमा पनि यही गुन्जिरहन्थ्यो।

तर, गर्नेचाहिँ के?

खेमको दिमागमा ‘आइडिया’ थुप्रै थिए, तर ठोसचाहिँ केही थिएनन्।

करिब पाँच वर्षअघि अष्ट्रेलियामै ‘इन्गेजमेन्ट’ गरेर हुनेवाला श्रीमतीसँगै नेपाल फर्किंदा एयरपोर्टमा उनले जे भोगे, त्यसले ठोस योजना बुन्न सघायो।

‘नेपाली चलनअनुसार नयाँ सदस्यले आफन्तसँग भेट गर्दा लगाउने लुगा फेर्न हामी एयरपोर्टको शौचालय छिर्‍यौं,’ उनले सुनाए, ‘शौचालय यति फोहोर थियो कि लुगा फेर्न निकै सकस पर्‍यो। अनि मनमा एउटा कुरा चल्यो, मजस्ता थुप्रै नेपाली अरुको देश सफा गरिरहेका छौं। तर आफ्नै देशचाहिँ किन यस्तो?’

उनी त्यो प्रश्नले रन्थनिए।

चितवनको भरतपुर एयरपोर्ट झर्दा त्यहाँको पारा पनि उस्तै थियो। उनी बिहे गरिवरि अष्ट्रेलिया फर्किए। आफ्नो व्यवसायमा लागे। तर, आफ्नो देशको एयरपोर्टको फोहोर बिर्सिएनन्।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौं विदेशी पर्यटक ओहोरदोहोर गर्छन्। पर्यटक आउँदा पनि फोहोर देख्छन्, जाँदा पनि फोहोर देख्छन्। उनले त्रिभुवन विमानस्थलबाटै आफ्नो अभियान थाल्न चाहेका थिए।

‘सानो छँदा म सोच्थेँ, म जे काम गरुँ त्यसले समाजलाई प्रत्यक्ष फाइदा पुर्‍याओस्,’ उनले भने, ‘अष्ट्रेलियामा मैले गरेको कामले देशलाई प्रत्यक्ष प्रभाव पार्थेन, त्यसैले म यहाँ केही गर्न चाहन्थेँ। पर्यटनको यत्रो सम्भावना भएको देशको एयरपोर्ट त्यस्तो फोहोर देखेपछि मलाई त्यहीँबाट काम सुरु गर्न मन लाग्यो।’

तर, उनको सम्बन्ध सूत्र थिएन।

घोत्लिँदा घोत्लिँदै तीन वर्ष बित्यो। सोचे, ‘अब त्रिभुवन विमानस्थल नभए पनि कतै न कतैबाट काम सुरु गर्नुपर्छ।’

उनलाई आफ्नै ठाउँ भरतपुरको एयरपोर्ट सफा गर्न सजिलो थियो। करिब एक महिनामा भरतपुर एयरपोर्ट सफा गरेर नमुना काम देखाइदिए। त्यसयता उनको कम्पनीबाट दुई जना स्वयंसेवक भरतपुर एयरपोर्ट सफाइमा खटिइरहेका छन्।

भरतपुर एयरपोर्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खोलिदियो। एनआएरएन पदाधिकारी भवन भट्टले विमानस्थलका निर्देशकसँग एयरपोर्ट सफाइको योजना सुनाइदिए। खेमको आधा उद्देश्य पूरा भयो।

उनले आफ्नोतर्फबाट जम्मा तीन जना स्वयंसेवक साथ लिए। बाँकी सबै विमानस्थलकै कर्मचारी थिए। उनी पुरै एक महिनाका लागि अष्ट्रेलियाबाट नेपाल आएर बसे। हरेक रात आठ घन्टाका दरले एक महिना भुइँ, भित्ता घोटेर एयरपोर्ट चम्काइदिए।

सरसफाइ अभियानपछिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिर- एकराज पाठक, रासस
आफू पनि चम्किए।

सरसफाइ होस् या अरु काम। जनशक्ति, औजार र पैसा आधारभूत कुरा हुन्। यी तीनै कुरा एयरपोर्टसँग थियो। तर, सफा थिएन। खेमले नेपालमै पाइने औजार, विमानस्थलकै कर्मचारीलाई लिएर कसरी त्यस्तो नतिजा निकाले त?

उनी कामको पहिलो सर्त, व्यवस्थापनलाई मान्छन्।

‘आजको नेतृत्व बोल्ने होइन, गर्ने हो,’ उनी भन्छन्, ‘बोलेर काम लगाउँदा पचास प्रतिशत आउला, तर नेतृत्व लिनेले पनि सँगै काम गर्ने हो भने सत प्रतिशत नतिजा आउँछ।

काम गर्दा उनको प्रमुख नियम हो, समय।

काम सुरु हुनुभन्दा १० मिनेटअघि नै तयारी अवस्थामा ठाउँमा पुगिसक्नुपर्छ भन्ने उनको मान्यता छ। भन्छन्, ‘सुरुको १० मिनेट छुट्यो कि पुरै दिन छुट्यो।’

उनी काम थाल्नुअघि १० मिनेट ‘ब्रिफिङ’ दिन्छन्। सुरुमा हिजो गरेका कामबारे छोटो समीक्षा गर्दै भन्छन्, ‘हिजो हामीले गरेको भन्दा एक खुड्किलो अगाडिको काम गर्नुपर्छ।’

त्यसपछि उनी आज गर्ने कामबारे जानकारी गराउँछन्। उनी बोल्दैनन् मात्र, गर्ने काम आफैंले गरेर देखाउँछन्। १० मिनेटको ब्रिफिङपश्चात काम सुरु हुन्छ। त्यसपछि उनी हराउदैनन्, सँगै खटिन्छन्। तोकिएको समयमा ठ्याक्क काम रोक्छन्। फेरि १० मिनेट कामबारे समीक्षा गर्छन्।

अनुभव साटासाट गर्छन्। उनी सकेसम्म नकारात्मक टिप्पणी गर्नै रुचाउँदैनन्। राम्रो गर्नेको प्रशंसा गर्छन्। त्यो १० मिनेटको ‘ब्रिफिङ’ मा उनी गरिसकेको कामको चर्चा मात्र होइन, भोलि सफा गरिसकेपछि त्यो ठाउँ कस्तो हुन्छ, मौखिक रुपमै त्यसको चित्र प्रस्तुत गरिदिन्छन्।

उनी भन्छन्, ‘भोलि त्यो काम गरिसकेपछि कस्तो हुन्छ त्यसको परिकल्पना गरेर बसौं। परिकल्पना आफैंमा रोमाञ्चक हुन्छ। त्यसले पहिल्यै काम गर्न उत्प्रेरित गर्छ। परिकल्पना अर्थात् गन्तव्य। दिमागमा जब गन्तव्य गढेर बस्छ, हामी जस्तोसुकै अप्ठ्यारो कामसँग पनि आनन्द लिन थाल्छौं।’

एयरपोर्ट सफा गरुन्जेल उनी हरेक रात कर्मचारीहरुसँगै रहन्थे। नजानेको काम आफैं गरेर देखाउँथे। यसरी एक महिनासम्म आफैं खटिएपछि एयरपोर्टले अनुहार बदल्यो।

कर्मचारीले जाँगर लगाएर काम नगर्ने प्रवृत्ति नेपालको सबैभन्दा ठूलो समस्या भएको खेमको अनुभव छ। तर यसमा कर्मचारीको मात्र दोष नहुने खेम बताउँछन्। उनको भनाइमा सबैभन्दा ठूलो दोष व्यवस्थापन तहमा काम गर्नेको हुन्छ। विश्वास लिएर काम लिन नसक्ने, काम गरे पनि कर्मचारीहरुमा उत्प्रेरणाको अभाव रहेको उनी बताउँछन्।

एक महिना काम गरेर एयरपोर्ट चिटिक्क परापछिको उनको अनुभवले भन्छ, ‘कोही नेपाली खराब छैन। मात्र व्यवस्थापन नपुगेको हो। उत्प्रेरणा नपुगेको हो।’

कामको प्रभावकारिता बढाउने उनको अर्को पनि सूत्र छ— विज्ञान–प्रविधि सकेसम्म प्रयोग गर्ने।

‘सफा गर्दा फोहोर रहनु पनि भएन, धुलो उड्नु पनि भएन,’ उनी भन्छन्, ‘र अर्को कुरा ठाउँ पनि सफा हुनुपर्‍यो, सफा गर्ने मान्छे पनि सफा हुनुपर्‍यो। प्रविधिका पछिल्ला उपलब्धिहरुलाई हामीले पछ्याउन सक्यौं भने मात्र गुणस्तरीय काम निस्कन सक्छ।’

आफ्नै ठाउँको एयरपोर्ट सफा गरेपछि थुप्रैले स्याब्बासी दिए। बाबुआमाले दिएको स्याब्बासीले चाहिँ खेमको मनमा गाँठो पारेको थियो। झन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेपछि त बाबुआमाको खुसीको सीमै छैन। ‘त्यसैले दसैंमा घर आइपुगेको छोरो दुई घन्टा मात्रै बसेर फर्किंदा पनि बुवाआमाले आँशु खसाल्नुभएन,’ खेमले सुनाए।

एयरपोर्ट सफा गरेपछि बाबुको इच्छाको सानो हिस्सा पूरा गरेको ठानेका छन् खेमले।

खाडीमा रहेका थुप्रै नेपालीले ‘तपाईं नेतृत्व लिने हो भने हामी देश फर्कन्छौं’ जस्ता म्यासेज पठाउँदा आफूमाथि झनै ठूलो जिम्मेवार थपिएको उनले महसुस गरेका छन्।

खेम ठान्छन्, कोही एक व्यक्ति मात्र लागेर परिवर्तन सम्भव हुँदैन।

‘विदेशमा राम्रो कमाइ भएका हरेक नेपालीले आफ्नो कमाइको केही अंश नेपाल सरसफाइका लागि छुट्याउन्। नेपालमै भएकाले पनि समूह बनाएर हरेक दिन या हप्ताको एकपल्ट सरसफाइको काम गरुन्,’ उनी भन्छन् ‘यसो गर्दा सामाजिक रोजगारी सिर्जना हुन्छ।’

तीन–चार जना मिलेर नेपालमा रहेको एउटा व्यक्तिलाई ६ महिनासम्मको पारिश्रमिक दिएर आफूवरिपरिका ठाउँ सफा गर्न सकिने उनी सुनाउछन्।

‘देशमा हुने एउटाले रोजगारी पनि पाउँछ, ठाउँ सफा पनि हुन्छ। पर्यटन व्यवसायका लागि सबैभन्दा पहिलो सर्त हो, सरसफाइ। सरसफाइ भएपछि पर्यटक बढ्छन्। त्यसले थुप्रै रोजगारी सिर्जना हुन्छन्।’

कुरा गर्दा गर्दै खेमले आफ्ना साथीले सुनाएको एउटा किस्सा सम्झिए।

नेपाल घुम्न आएको एउटा विदेशीलाई गाइडले सोधेछन्, ‘नेपाल कस्तो लाग्यो?’

विदेशीले ‘न्याप्किन पेपर’ बटार्दै नाकमा घुसाएछन्। सेतो न्याप्किनमा काला लेघ्रा टाँसिएर आए।

विदेशीले गाइडलाई त्यही देखाउँदै भनेछन्, ‘यी यस्तो लाग्यो तिम्रो नेपाल!’

खेमले सकेसम्म नेपालमा सरसफाईको काम अघि बढाउने निर्णय गरिसकेका छन्। पहिले देशका अमूल्य सम्पदाहरुको सरसफाइ गर्ने योजना बुनेका उनले जीवनभर यसै अभियानमा लाग्ने घोषणा पनि गरिसकेका छन्।

‘मेरो एउटा सपना छ, नेपाल सफा भएको देख्ने,’ उनी भन्छन्, ‘ कुनै दिन विदेशीहरु नेपाल सफा भयो भनेरै हेर्न आउँछन्।’

साथीले सुनाएको किस्साको ठीक उल्टो खेम चाहन्छन्, ‘नेपाल कस्तो लाग्यो’ भनेर सोध्दा नाकको पोरामा जमेको फोहोर होइन, पर्यटकले टल्किएको जुत्ता र वायुमण्डलतिर औंला तेर्स्याऊन्!समुन्द्र राज घिमिरेले सेतोपाटिमा खबर लेखेका छन्

panakhabar को सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah