काठमाडौं । एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यका लागि काठमाडौ क्षेत्र नं २ बाट सर्बसम्मत उम्मदवारका रुपमा शिफारिस भएका छन् । एमाले २ नं निर्वाचन क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले बरिष्ठ नेता नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चार दशकदेखि काठमाडौ क्षेत्र नम्बर २ मा बसोबास गर्दै आएका नेता नेपाल २०७० को निर्वाचनमा त्यही क्षेत्रबाट ९ हजार २ सय ७३ मतअन्तरले विजयी भएका थिए । नेता नेपालले २१ हजार ७ सय ४८ मत प्राप्त गरेका थिए ।
२०७० सालको संविधानसभाको निर्वाचनमा रौतहट र काठमाडौ दुबै क्षेत्रबाट बिजयी भएपछि नेपालले काठमाडौ २ छाडेका थिए । गएको स्थानीय निर्वाचनमा नेपालको गृह जिल्ला रौतहटमा एमालेका पराजय भएपछि नेपालको चुनाव क्षेत्रबारे अनेक टिप्पणी हुन थालेका थिए। नेपालले छाडेपछि भएको उपनिर्वाचनमा पनि काठमाडौ २ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ पराजित भएका थिए ।
श्रेष्ठ पराजित भएपछि त्यसलाई नेपालको प्रतिष्ठासग जोडिएको थियो। तर अहिलेको नयाँं संविधान अनुसार एक भन्दा बढि क्षेत्रबाट उम्मेदवार हुन नपाउने ब्यबस्था गरेकोले अव नेपालको चुनाव क्षेत्र काठमाडौ २ नै हुने भएको छ। यद्यपी नेपालले यस बिषयमा कुनै प्रतिक्रिया सार्बजनिक गरेका छैनन् ।
बैठकले प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारतर्फ मणिराम फुयाँल, बुद्धभक्त चित्रकार र शान्ता थापालाई प्रस्ताव गरेको छ । लामोसमय प्राध्यापनमा क्रियाशील फुयाँल पछिल्लो समय राजनीतिसँगै सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएका छन् चित्रकार नेपाल प्रधानमन्त्री हुँदा सचिवालयमा कार्यरत थिए ।










