पूर्व प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी सरकार ढालेर चुनाव प्रभावित पार्ने पक्षमा नभएको बताएका छन् ।
शनिबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने ‘हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौं, यो हाम्रो नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान हो ।
यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौं । तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौं । हाम्रो एक मात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।’
संसदीय दलका नेतासमेत रहेका अध्यक्ष प्रचण्डले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए । उनले भने ‘एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ ।
तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ । एउटा अर्कोमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुङ्गोमा पुग्छौं । अहिले हाम्रा आ–आफ्नै वैचारिक मान्यता कायम छन् ।’ बैठकमा अध्यक्ष प्रचण्डले संविधान निर्माण र कार्यान्वयनको प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेकोमा सांसदहरुलाई धन्यवाद दिए ।



