https://www.youtube.com/watch?v=eSFzY9jxVWE&feature=youtu.be
शुक्रबार बुद्धनगरको क्वालिटी बैंक्वेट खचाखच थियो । कार्यक्रम थियो पूर्व डीआइजी नवराज सिलवालको एमाले प्रवेश । प्रमुख अतिथि हुनुहुन्थ्यो एमाले अध्यक्ष केपी शर्मा ओली । निर्धारित समयभन्दा केही ढिला गरी कार्यक्रम स्थलमा पुग्नुभएको थियो अध्यक्ष ओली । ओलीकै गाडीमा आइपुगेका थिए पूर्व डीआईजी सिलवाल । ओलीसँगै सिलवाल प्रवेश गरेपछि हलभित्र खचाखच भरिएका कार्यकर्ताको ताली र हुटिङले कार्यक्रमस्थल नै गुञ्जियो ।
सधैं प्रहरी पोशाको फुलीवाला टोपी, सर्ट, पेन्ट, जुत्तामा सजिने सिलवाल प्रहरी सेवाबाट राजीनामा दिएपछि पहिलो पहिलो सार्वजनिक कार्यक्रममा फरक गेटअपमा हुनुहुन्थ्यो । प्रहरी पोशाकमा देख्नेहरु सिलवाललाई हत्तपत्त चिन्नै नसकेको बताउँदै थिए । खैरो धर्के सर्ट र पाइन्टमा आएका उहाँ निकै उत्साहि देखिनुहुन्थ्यो । कार्यक्रमस्थलमा ताली र ठूलो आवाजको हुटिङ पाएर दंग पर्नुभएका उहाँले नेताकै शैलीमा हात उठाएर अभिभावदन गर्नुभयो ।
ओलीको हातबाट टीका लगाई पार्टी प्रवेश गरेपछि उहाँको बोल्ने पालो आयो । शुरुमै उहाँले भन्नुभयो, ‘लेनिनले भनेका छन्, यदि राजनीतिलाई तपार्इंले हस्तक्षेप गर्नुभएन या गर्न सक्नु भएन भने राजनीतिले तपाईंको जीवनलाई हस्तक्षेप गरिदिन्छ,, यो भनाई मेरो जीन्दगीमाथि ठयाक्कै लागू हुन्छ ।’ प्रहरी सेवामा रहंदै नव सिलवालको नाममा साहित्यिक कृति लेख्नुभएका सिलवाल आफूबारे बोल्न थाल्नुभयो, ‘म माथि धेरै ठूलो राजनीति भयो । । मैले कहिल्यै पनि राजनीतिमा आउनको लागि आफूलाई प्रशिक्षित गरेको थिईनँ र मुलुको जिम्मेवार संस्थामा महत्वपूर्ण योगदान दिएर मुलुकप्रति समर्पित सिपाही थिएँ ।’ सिलवालले आफू ईमान्दार र योग्य भएकै कारण फालिएको बताउनुभयो । अव अर्कै भूमिकाबाट राजनीतिक स्थिरता र देशको समृद्धिका लागि सक्रिय हुने उहाँको भनाई थियो ।
देश सेवाका लागि आफूले प्लेटफर्म मात्रै परिवर्तन गरेको उहाँले वताउनु भयो । आफ्नो पार्टी प्रवेशप्रति हुने टिप्पणीको पनि सिलवालले जवाफ दिनुभयो । ‘म पार्टीमा प्रवेश गर्ने कार्यक्रमलाई लिएर हिजोसम्म कसैले राम्रो गर्नुभयो भने, कसैले जानै हुँदैनथ्यो पनि भने । तर राजनीतिमा प्रजातन्त्रको आवरणभित्रको अपराधले यस्तो परिस्थिति बनाइदियो कि मैले राजनीतिलाई नअंगाल्ने हो भने न्यायमाथि मेरो अस्तित्वमाथि पनि प्रश्नचिन्ह खडा हुने भयो’ सिलवालले सिलसिवेवार रुपमा भन्नुभयो, ‘मैले हिजो मुलुकका लागि गरेको मेहनतलाई पूर्णता दिन म यो पार्टीमा ज्वाईन गरेको हुँ । आज मेरो प्लेटफर्म चेन्ज भएको छ तर, त्यो उत्साह कदापी चेन्ज हुँदैन बरु बढने छ ।’
सिलवालले भाषण अन्त्य गरिसक्नु भएको थियो । तर, किन हो फेरि केहीबेर रोकिएर लालसलाम भन्दै अभिवादन गर्नुभयो । त्यसबेला हलभरीका दर्शक गडगडाहट तालीमा उत्रिए ।



