शिवनारायण गिरी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनमा बाँधएिसँगै पार्टी फुटाउन कसैलाई फुर्सद नहुने बताएका छन् ।
शनिबार राजधानीमा माओवादी केन्द्रले आयोजना गरेको केन्द्रीय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमालेसँगको गठबन्धनलाई पार्टीकै केही कार्यकर्ताबाट आएको मिश्रित प्रतिक्रियालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
“अब माओवादीमा स–साना गुट र उपगुट बनाई पार्टी सिध्याउने प्रपञ्च रच्ने गिरोहहरु ध्वस्त हुनेमा म विश्वस्त छु,” पछिल्ला दिनमा फुर्सदले माओवादी खत्तम भएको बताउँदै दाहालले भने, “यो गठबन्धनपछि पार्टीका सबै साथीहरु व्यस्त रहनुहुने भएकाले आफ्नै पार्टी फुटाउन कसैलाई फुर्सद हुनेछैन, गठबन्धन एउटा भट्टी हो । यसमा को को साथीहरु खरानी हुनुहुन्छ, को को स्पात हुने हो त्यो टेस्ट हुनेवाला छ ।”
वाम गठबन्धन एकले अर्कालाई सिध्याउनका लागि नभई लामो राजनीतिक संक्रमणकालको अन्त्य र देशको ऐतिहासिक आवश्यकता रहेको बताउँदै प्रष्ट पारे “यो एकता कसैमा विलय हुनका लागि होइन, यो सम्पूर्ण परिवर्तनकारी शक्तिहरुको आवश्यकता हो ।”
अध्यक्ष दाहालले वाम गठबन्धनमा आफ्नो पार्टीले धोका नदिने भन्दै एमालेले पनि माओवादीलाई निरन्तर साथ दिने विश्वास व्यक्त गरे ।
पहिचान र क्रान्तिको मुद्दा माओवादीले नबिर्सिएको बताउँदै दाहालले एमालेसँगको एकताले माओवादीले उठाउँदै ल्याएको पहिचान र क्रान्तिको मुद्दा हराउँदै जाने पोे हो कि भन्ने शङ्का कसैले पनि राख्न नहुने जनाए ।
प्रदेश इञ्चार्जहरुबाट मिश्रित प्रतिक्रिया
माओवादी केन्द्रको यो गठबन्धनप्रति प्रदेशका इञ्चार्जहरुबाट मिश्रित प्रतिक्रिया आएको छ । माओवादी केन्द्रको यस गठबन्धनलाई स्थनीयदेखि जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुले शङ्का तथा आश्चर्य मानेको इञ्चार्जहरुले बताएका छन् ।
प्रदेश नं. १ मा हालसालै सम्पन्न स्थानीय तह निवर्नचनमा पार्टीले दोब्बर मत बढाएको बताउँदै प्रदेश नं. १ का इञ्चार्ज सावित्री काफ्ले समरले भने, “एमालेले माओवाद र पहिचानको मुद्दालाई आत्मसात गरेमात्र वामएकता सम्भव हुनेछ, नत्र पार्टी विलय हुन्छ ।”
यसैगरी प्रदेश नं. २ का इञ्चार्ज मातृका यादवले भने, “वाम एकतापछि बन्ने पार्टी माओवादी बन्छ कि एमाले ?,” यादवले थपे, “एकता माओवादीकरणका पक्षमा हुनुपर्छ ।”
पार्टीअध्यक्ष दाहालले नेता तथा कार्यकर्तासँग कुनै सल्लाह नै नगरी आसन्न चुनावमा एमालेकै चुनाव चिह्न प्रयोग गर्न खोजेको तर आफूहरुले पार्टीकै चुनाव चिह्न प्रयोग गर्न सुझाव दिएपछि माओवादी केन्द्र ठूलो दुर्घटनाबाट बचेको टिप्पणी गरे ।
यता प्रदेश नं. ३ का इञ्चार्ज हितमान शाक्यले पार्टीको आन्तरिक विवादका कारण प्रदेश नं. ३ को हालसालै सम्पन्न निर्वाचनमा समयमै उमेदवार चयन गर्न र मतदाता शिक्षा प्रभावकारी रुपमा प्रदान गर्न नसकेका आफ्नो पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको बताए ।
त्यसैगरी प्रदेश नं. ४ का इञ्चार्ज देव गुरुङ, ५ का वर्षमान पुन, ६ का मायाप्रसाद आचार्य र ७ नं. का इञ्चार्ज लेखराज भट्टले माओवादी फुटसँगै निराशा छाए पनि एमालेसहित नयाँ शक्तिसँगको चुनावी तालमेलदेखि पार्टी एकतासम्मको कुराले जनता तथा कार्यकर्तामा उत्साह छाएको बताए ।
बार्ह खरी बाट



