काठमाडौं, २१ असोज– एमालेले बामपन्थी दलहरुको एकतालाई लिएर लोकतन्त्रको निष्ठामाथि प्रश्न नउठाउन सत्तारुढ नेपाली कांग्रेसलाई चेतावनी दिएको छ । बामपन्थी एकता अभियानको घोषणालाई अनुमोदन गर्दै शनिवार बसेको स्थायी समिति बैठकले बामपन्थी दलहरुको एकताका लागि भएको सहमति ऐतिहासिक भएको पनि निश्कर्ष निकालेको छ । चक्रपथ डट कम मा खबर रहेको छ ।
‘हाम्रो पार्टी एकतालाई लिएर नेपाली कांग्रेसका कतिपय नेताहरुले अधिनायकवाद, सर्वसत्तावाद वा लोकतन्त्र खतरामा परेको अराजनीतिक टिप्पणी गर्नु भएको सुनिएको छ’ बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सचिव प्रदीय ज्ञवालीले भन्नुभयो, ‘त्यसले उहाँहरुको बेचैनी र अत्यासलाई अभिब्यक्त गरेको छ, लोकतन्त्रप्रतिको आम्रो निष्ठामा प्रश्न नउठाउन हामी आग्रह गर्छाैं । दलहरुबीचको एकताले लोकतान्त्रिक प्रणालीको स्थायित्वलाई सुनिश्चित गर्छ, उहाँहरुले पनि विचार मिल्ने पक्षसँग एकता गर्नुहुन्छ भने हामी स्वागत गर्छाैं ।’
कांग्रेस र त्यस दलका नेताहरुले बामपन्थी एकताका विषयमा गरेको टिप्पणीलाई हतासा र विचलनका कारण आएको पनि ज्ञवालीले वताउनुभयो । बामपन्थी दलहरुको एकता नेपालको कम्युनिस्ट आन्दोलनको एकीकरणसँग जोडिएको वताउँदै एमालेले एकता कांग्रेस वा कुनै पनि दल विरुद्ध नभएको स्पष्ट पारेको छ ।
यस्तै एमालेले एमाले र माओवादी बीच भएको एकता सरकार ढाल्नका लागि नभएको भन्दै यही सरकारले चुनाव गराउनेप्रति पनि स्पष्ट पारेको छ । तर, यसलाई देखाएर चुनाव नगराउने खेलमा उद्यत नहुन कांग्रेसलाई आग्रह गरेको छ । चुनावलाई प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि एमालेलाई मान्य नहुने उसको निश्कर्ष छ ।
बैठकले माओवादीसँग पार्टी एकताका लागि भएको सहमति अनुमोदन गर्दै त्यसलाई ऐतिहासिक उपलब्धीको संज्ञा दिएको छ । माओवादीसँग भएको पार्टी एकीकरणको सम्झौतालाई बैठकले सर्वसम्मत अनुमोदन समेत गरेको छ ।
भिडियो हेर्नुहोस् :
https://youtu.be/QuoQOHy8SJM









