‘सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
रारा की अप्सरा  ! –महेन्द्र शाह ।’
२०२० साल चैत महिनाको उखरमाउलो मौसममा मुगुको रारा ताल पुगेका तत्कालिन राजा महेन्द्रलाई राराले शितलो मात्रै दिएन, कविता कोर्न बाध्य पा-यो । संसारकै राजा महाराजाहरू कठोर हुन्छन्, कतै त झुक्न/पग्लिन पनि सक्नुपर्छ भन्ने सभ्यताले राजदरबारमा प्रवेश पाएकै हुँदैन ।

उतिखेर राजा महेन्द्र पनि झुक्नका लागि होइन, बहादुरी प्रदर्शन गर्न रारा पुगेका थिए । काठमाडौंबाट घोंडा चढेर बिकट मुगुको रारा पुग्नु पछाडि महेन्द्रको खास उद्देश्य थियो, रारा राष्ट्रिय निकुञ्जमा बदेलको शिकार गर्नु । तर, जब रारा तालको किनारमा महेन्द्रले घोंडा रोके, घोंडाबाट झरेर धुपिको रुखमुनी सुस्ताए र राराको निलो पानीमा एकटक हेरिरहे, तब उल्टै राराले शिकार खेल्यो महेन्द्रको मनमा ।

महेन्द्रले राराको नाममा कविता कोरे, आँफ्नै नामलाई पनि घोलिदिए राराको कञ्चन जलमा । संयोग नै भनौं, असिना पानीका कारण पनि महेन्द्रको बदेल शिकार गर्ने योजना पूर्ण रुपमा समाप्त भयो । राराबाट पूरै पग्लिएर फर्किए, राजा महेन्द्र ।

पर्यटकको पर्खाइमा रारा

राराको बयान सुन्दा र फोटो देख्दा लाग्छ, मान्छे त धुइरो लाग्छन् होला नि रारामा † तर यथार्थ बिल्कुल फरक छ । रारा प्रायः एक्लै हुन्छ, ठूला–ठूला पहाडहरूको बीचमा । निलो मसी पोखिएजस्तै पानी, पानीको छेवैसम्म सल्ला र धुपिका रुखहरू उभिएका, चारैतिर हराभरा तर पनि सुनसान छ, रारा ।

महिनाको एक/दुईपटक हेलिकप्टर चढेर आउने थोरै पर्यटकले मात्रै राराको सफा, सुन्दर र निर्मल अनुहार कैद गरेर फर्किएका हुन्छन् ।

पर्यटकीय गन्तव्य भनेपछि स्वीट्जरल्याण्डकै किन कुरा गर्नु प-यो ? छिमेकी भारतकै नैनी तालमा पर्यटक ओइरिएका देख्दा अचम्म लाग्छ । तर, राराको सामू त नैनी तालको सुन्दरताको बयान नै गर्न मिल्दैन । रारा त कति हो कति सुन्दर † तै पनि नैनी तालको तुलनामा नगन्यमात्रै पर्यटक पुग्छन्, रारामा किन ? जवाफ सहज र सटिक छ, बिकट मुगुको सुन्दर राराको प्रचार गर्ने र पर्यटक पु¥याउन पहल गर्ने काम राज्यस्तरबाट भएकै छैन ।

नेपालको सबैभन्दा सानो जिल्ला, मुगु । मुगुमै पर्ने देशकै सबैभन्दा सानो निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज । र रारा राष्ट्रिय निकुञ्जको आडैमा सुतिरहेको देशकै सबैभन्दा  ठूलो ताल, रारा । नेपालमा रहेका ८ सय ६७ प्रजातिका चराहरूमध्ये रारामा २ सय ३६ प्रजातिका पाईन्छन् ।

धेरैजसो भारत र तिब्बतहुँदै साइबेरिया ओहोरदोहोर गर्ने हाँसहरू छन् । हाँस, जलेवा, क¥याङकुरुङजस्ता चरा जलक्रिडामा मग्न भएको देख्दा आँफूलाई पनि उनैको आनन्द चोर्न मन लाग्छ । त्यसैले पनि होला नेपाली सेनाका समरजित गुल्मका जवानले त्यहाँ पुग्ने पर्यटकलाई केहीबेर डुंगा सयर गराएर फुरुङ्ग बनाइदिन्छन् ।

रारामा पाईने तीन प्रजातिका असला माछा संसारमा अन्त कतै भेटिंदैनन् । रंग बदलिरहने राराको कञ्चन पानीमा माछाको गतिबिधी नांगो आँखाले नियाल्दा टोलाइराख्न मन लाग्छ ।

उचाई : २,९७२ मि (समुद्री सतहबाट)
लम्बाई : ५ किलोमिटर
चौडाई : ३ दशमलव २ किलोमिटर
गहिराई: १ सय ६७ मिटर
क्षेत्रफल: १० दशमलव ८ बर्ग किलोमिटर । – रारा तालको बनोट ।

ताल्चा–नेपालगन्ज उडान भर्ने जहाजले राराको फन्को लगाइदिएर आनन्द लुट्ने अवसर दिलाइन्छिन् । आकाशबाट हेर्दा उपत्यकाजस्तो लाग्ने राराको रंग गाढा निलो देखिन्छ ।  जेठदेखि आसोजसम्मको मौसाममा बिभिन्न फूलहरू पहिरिएर स्वर्गकी अस्सरा झैं देखिने रारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएका हुन्छन् ।

सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त बर्णन गर्ने शब्दकै अभाव पर्छ । राराबाट पश्चिमतर्फ तीन घण्टा हिंडेपछि पुगिने मुर्माटपबाट राराको मनोरम दृश्य र सैपाल हिमालको अवलोकन गर्न पाइन्छ ।

सुनेको थिएँ, रारा पुगेपछि कविता नफुर्ने मन दुर्लभ नै हुन्छन् रे, राजा महेन्द्रको कविता त पढेकै हो । आखिर हो नै पो रहेछ, मनै पग्लिएर स्वस्फूर्त पोखिन चाहँदो रहेछ रारामा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah