काठमाडौं । राप्रपाले आगामी निर्वाचन धरापमा पर्ने आशंका व्यक्त गर्दै सुनिश्चिततासहित सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
यसबारेमा राप्रपाले सरकार र संसद् सचिवालयमा पनि जानकारी गराएको छ ।
“सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलसँग पार्टी एकता र चुनावमा सहकार्य गर्ने निर्णय गरेपछि सरकार अल्पमतमा पर्न सक्ने, राजनीतिक अस्थिरता खडा हुने तथा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नै धरापमा पर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै चुनावको सुनिश्चितताको निमित्त राप्रपाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित वर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको छ,” राप्रपाको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी राष्ट्रियता र प्रजातन्त्रको सुदृढिकरण, पार्टीको एजेण्डाको सवलिकरण तथा मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस र अन्य प्रजातान्त्रिक शक्तिहरुसँग तालमेल तथा सहकार्य गर्ने निर्णय पनि गरेको प्रवक्ता सुशील कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच राप्रपाका प्रमुख सचेतक कुन्ती शाहीले वर्तमान सरकारलाई समर्थन गरेको पत्र आजै बुझाएकी छन् । संसदमा राप्रपाका १९ सांसद छन् ।
राप्रपा स्रोतका अनुसार थापाकै नेतृत्वमा राप्रपा सरकारमा जाने तयारी भएको छ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बाहिरिएपछि थापा सरकारमा सहभागी हुनेछन् ।










