काठमाडौं, असोज २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार कामचलाउ भएको बताउनुभएको छ ।
माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकता समन्वय समितिको बैठकमा ओलीले अहिलेको सरकारको चुनाव गराउने बाहेक अरु कुनै काम नभएको बताउनुभयो ।
ओलीले भन्नुभयो, ‘सरकार कामचलाउ भैसकेको छ , चुनाव नहुने र नगराउने कुरा अहिले सोच्न पनि सकिँदैन ।’ नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकीकरणसमेत हुने सहमति भएको थियो ।
वाम गठबन्धनमा रहेका अन्य दललाई दिएर बाँकी रहेको निवार्चन क्षेत्रमा एमालेले ६० र माओवादीले ४० प्रतिशत निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । ओलीले कानुनी, राजनीतिक र नैतिक दृष्टिकोणबाट यो सरकारले चुनाव मात्रै गराउन सक्ने बताउँदै निर्वाचन आचारसंहिता मिच्दै सरकार पुनर्गठन गर्न नमिल्ने बताउनुभयो ।
समन्वय समितिले मंगलबारसम्म निर्वाचन क्षेत्र बाँडफाँडको टुंगो लगाउने निर्वाचन क्षेत्र छनौट कार्यदलका कार्यदलका संयोजक इश्वर पोखरेलले बताउनुभयो ।
पार्टी एकता समन्वय समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ भने कार्यदलमा एमालेका ४ जना तथा माओवादी केन्द्रका २ जना शीर्ष नेता र नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई हुनुहुन्छ । उज्यालो अन्लाइन बाट










