काठमाडौं । चार वर्षअघि स्थापना भएको विवेकशील दल र ६ महिनाअघि स्थापना भएको स्थापना भएको साझा पार्टी गत साउनमा एकीकरण भएपछि विकेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर १, ४, ५, ७,८ र ९ मा आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि उमेदवार टुङ्गो लगाएको छ ।
पार्टीले काठमाडौं क्षेत्र नम्बर १, ४, ५, ७,८ र ९ मा आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि उमेदवार टुङ्गो लगाएको हो ।
काठमाडौं क्षेत्र नम्बर १ र ५ बाट पार्टीका सह(संयोजक रवीन्द्र मिश्र र उज्जवलकुमार थापाले उमेदवार बनाएको छ । त्यस्तैगरी क्रमश : क्षेत्र नम्बर ४, ८ र ९ बाट सुबुना बस्नेत, पुकार बम र मिलन पाण्डेलाई प्रतिनिधिसभा सदस्यका लागि अगाडि सारेको छ ।
पार्टीले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रत्यक्षतर्फ विगत २० वर्षदेखि पत्रकारिता गरेकी अनुपा श्रेष्ठलाई उमेदवार बनाएको छ भने ८ बाट ४ वर्षदेखि वैकल्पिक पार्टी निर्माणमा सक्रिय युवा पुकार बमलाई उमेदवार बनाएको छ ।
काठमाडौं क्षेत्र नं १ कांग्रेस बलियो छ । क्षेत्रबाट २०६४ र ०७० को चुनावमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारी मतले विजयी भएका थिए । यसै क्षेत्रबाट साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उमेदवारी दिएका छन् । पटक / पटक कांग्रेस विजयी भएको यो क्षेत्रमा जीत हासिल गर्न साझाका रवीन्द्रलाई त्यति सजिलो छैन । त्यस्तैगरी अर्का संयोजक उज्जवकुमार थापा पनि काठमाडौं क्षेत्र नं ५ मा एमालेको पकड रहेको ठाउँमा चुनाव लड्दै छन् । यो क्षेत्र एमालेका महासचिव इश्वर पोखरेलको क्षेत्र हो । त्यस्तै कांग्रेस नेता नरहरी आचार्य नि यही क्षेत्रका हुन् । यस क्षेत्रमा कांग्रेस एमालेको कडा प्रतिस्पर्धा हुने भएकाले थापाले पनि सजिलै जीत हात पार्न कठिन छ ।
काठमाडौं क्षेत्र नम्बर ४ मा भने काँग्रेस नेता गगन थापाको बलियो छन् । यो क्षेत्रमा ०७० को चुनावमा थापा भारी मतअन्तरले विजयी भएका थिए । थापाले २२ हजार ३३६ मत ल्याउँदा एमालेका निर्मल कुइकेल ९ हजार १३५ र माओवादीका नन्दबहादुर पुन (उपराष्ट्रपति)ले ६ हजार ४ सय ६२ मत ल्याएका थिए । यही क्षेत्रबाट अहिले विवेकशील साझा पार्टीले २६ वर्षीय सुबुना बस्नेतलाई अगाडि सारेको छ । कांग्रेसका हस्ती थापासँग साझाकी बस्नेतलाई चुनावी मैदानमा उत्रिइनु पनि चुनौति रहेको देखिन्छ ।










