काठमाण्डौ । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा छिटै नयाँ शक्तिको जन्म हुने बताएका छन् । बुधबार राजधानीमा आयोजित नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त)बीच एकता घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको सहमतिप्रति संकेत गर्दै अब मुलुकले नयाँ शक्ति पाउने र त्यसपछि अहिले भएका यी तीनै पार्टी भत्किने बताए । उनले आफ्नो स्वभावनै पुरानो पार्टी भत्काउने र नयाँ पार्टी बनाउने भएको बताउँदै आफु र आफ्नो पार्टीले माक्र्सवादलाई यसरी बुझेको प्रस्ट पारे ।
उनले भने, मैले जहिले पनि पुरानो पार्टी भत्काउने, नयाँ पार्टी बनाउने, आन्दोलनको पुरानो रुप भत्काउने नयाँ नीति अबलम्बन गरेँ। समाजमा एउटा नयाँ तरंग पैदा गर्ने मान्छेका दिमागमा एउटा भिन्न बहस सृष्टि गर्ने र त्यही प्रक्रियामा समाजमा एउटा क्रान्तिकारी परिवर्तन ल्याउने कुरामा विश्वास गरेँ। मैले र हाम्रो पार्टीले माक्सवादलाई त्यसरी नै बुझ्यो’ ।
उनले विगतको आफु र आफ्नो पार्टीको इतिहासको स्मरण गर्दै सुरु देखिनै आफुले पार्टीहरु भत्काउने र नयाँ बनाउने काम गर्दै आएको स्मरण गरे ।
उनले अबको केही समयभित्रै माओवादी केन्द्र पनि भत्किने संकेत गरे । एमाले र नयाँ शक्तिसँग भएको वाम एकतातर्फ संकेत गर्दै प्रचण्डले अहिले नेपालको कम्युनिष्ट राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको र त्यसलाई कम्युनिष्टहरुले नयाँ सिराबाट आन्दोलनको नेतृत्व गर्ने अवसर र चुनौती दुवैको रुपमा लिनुपर्ने बताए । छलफल बाट सभार










