काठमाडौँ, २६ असोज- कांग्रेस सभापति शेर बहादुर देउवाले कानुनले राजनीतिक दलको साधारण सदस्य बन्नसमेत अयोग्य ठह¥याएका पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई पनि संसदीय समिति सदस्य बनाएका छन्, नयाँ पत्रिकामा खबर छ ।

भ्रष्टाचारको मुद्दामा डेढ वर्ष जेल सजाय भोगेकाले नयाँ बनेको कानुनले खड्कालाई राजनीतिक दलको साधारण सदस्य बन्नबाट पनि रोक्छ । नेपालको संविधान र प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन विधेयकअनुसार पनि खड्का कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । तर, प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी केन्द्रीय सदस्यबाट खड्कालाई हटाउनु त परैको कुरा, पुरस्कारस्वरूप पार्टीले उम्मेदवार बनाउन टिकट दिने समितिको सदस्य बनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजनीतिक दलसम्बन्धी ऐनअनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय पाएका व्यक्ति राजनीतिक दलको सदस्य बन्न पाउँदैनन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा (१) को (ख)मा ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको’ व्यक्ति मात्र दलको सदस्य बन्न सक्ने उल्लेख छ ।