‘गौरादहको बजारैमा…’ बोलको गीतले मुलुकभर चिनिएको गौरादह नगर क्षेत्रमा एउटा रमणीय पर्यटकीय स्थलको समेत निर्माण हुन नसक्नु विडम्बना हो । नगर प्रमुख रोहितकुमार साहले नगरको पहिचानसँग जोडिएको गौरादह पोखरीलाई संरक्षण गरेर आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने ‘ड्रिम’ प्रस्तुत गरेका छन् ।
गौरादह नगरको पहिलो प्रमुख साहले पाँच वर्षभित्रमा गौरादहलाई ‘सुन्दर र समृद्ध’ तुल्याउने बाचा गरेका छन् । गौरादहका पोखरीको व्यवस्थापन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यसैले नै गौरादहको समग्र विकासमा टेवा पु¥याउन सक्नेमा उनी विश्वस्त छन् ।
नगर प्रमुख साह पञ्चवर्षीय योजना अन्तर्गत गौरादहको पहिचानसँग जोडिएको लगभग १३ विगाहामा फैलिएको पोखरीलाई व्यवस्थित गर्न तीन करोड लाग्ने बताउँछन् ।
यसका लागि गुरुयोजना निर्माण गर्ने र केन्द्र एवम् प्रदेश सरकारसँग विकासमा साझेदारी गर्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछन् ।
पोखरीका डिलमा रहेको अतिक्रमण हटाएर गुरु योजनाका साथ नक्साङ्कन कार्य सम्पन्न भएको बताउँदै नगर प्रमुख साहले घेराबाराको काम थालिएको बताए ।
पोखरीलाई मस्य पालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्राम स्थल सहितका फूलबारी निर्माण गर्ने, बोटिङ चलाउने, चिल्ड्रेन पार्क, बालबाटिका, जातीय सङ्ग्रहालय र बनभोज स्थल बनाइने गुरुयोजनामा उल्लेख छ ।
पोखरी व्यवस्थापन र पर्यटकीय स्थल निर्माणको पहिलो चरणमा २२ लाख ७५ हजार रुपैयाँ खर्च भइसकेको छ ।
पूर्व पश्चिमको १० किमि दक्षिणमा पर्ने यस नगरमा पुग्न यातायातको सुगमता छ । नगरको कूल क्षेत्रफल १४९.८६ वर्ग किमि छ भने जनसङ्ख्या ४७ हजार ३ सय ९३ रहेको छ । लोकतन्त्र पोष्टबाट साभार



