पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आफू बाँचुञ्जेल चुनाव लडेको मोरङको निर्वाचन क्षेत्रबाट यसपालि कांग्रेस नेता मिनेन्द्र रिजाल उठ्ने भएका छन्।

विराटनगर रंगेलीदेखि दक्षिणपूर्वका गाउँ हुँदै झापाको सीमासम्म जोडिएको यो क्षेत्र मोरङ निर्वाचन क्षेत्र नम्बर दुईमा पर्छ। कोइराला लड्दा यो मोरङको क्षेत्र नम्बर १ मा थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोइरालाले २०४८, २०५१ र २०५६ मा मोरङ क्षेत्र नम्बर १ र सुनसरी– ५ बाट चुनाव लडेका थिए। ती दुबै क्षेत्रमा उनी तीनै पटक विजयी भएका थिए।

दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्री र कार्यवाहक राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेका कोइराला चुनाव लडेनन्। त्यसपछि कोइराला परिवारका ज्वाइँ नाता पर्ने कांग्रेस नेता आमोदप्रसाद उपाध्यायले यो क्षेत्रमा चुनाव लडेका थिए।

यसपालि सो क्षेत्रबाट गिरिजाप्रसादकी पुत्री सुजाता कोइराला चुनाव लड्ने चर्चा थियो।

रिजाल प्रतिनिधि सभा सदस्यका लागि  मोरङ  २ र ४ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन्।

सेतोपाटीसँग कुरा गर्दै रिजालले २ र ४ नम्बरबाट आफ्नो सिफारिस भएको र पार्टीले जहाँ टिकट दिन्छ त्यहीँ आफू लड्ने बताए।

मोरङ कांग्रेसका नेताहरुले भने रिजाल नै क्षेत्र नम्बर २ बाट लड्ने पक्कापक्की भएको बताएका छन्।

‘सुजाताले पनि रिजाललाई समर्थन दिइसकेकाले उहाँ नै २ नम्बरबाट लड्नुहुन्छ,’ एक नेताले भने।

लामो समयदेखि कांग्रेसको राजनीति गरेका रिजालको गृहजिल्ला मोरङमा सिट खाली नभएपछि उनी निर्वाचन क्षेत्रविहीन थिए। उनको घर भएको ठाउँ निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ जहाँबाट कांग्रेसका अर्का प्रभावशाली नेता महेश आचार्य २०५६ देखि नै चुनाव लड्दै आएका छन्।

यसअघि २०६४ र २०७० सालमा रिजाल समानुपातिक तर्फबाट संविधान सभा सदस्य चुनिएका थिए। कोइरालापुत्री  सुजाता  यसपालि समानुपातिकतर्फबाट चुनाव लड्ने तयारीमा छन्।