काठमाडौं, २८ असोज- संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
कार्यकाल सकिएका सांसदले ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो पाउने भएका छन् । पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइने संसद् सचिवालयले जनाएको छ ।
तर, पूर्वसभासद्हरूले मागेका अन्य सुविधा भने नपाउने भएका छन् ।
उनीहरूले सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने, बहालवाला सांसदसमान मर्यादाक्रम हुनुपर्ने र विशिष्ट लोगो दिनुपर्ने माग गरेका थिए ।
तर, कानुनी आधारविना पूर्वसभासद्हरूलाई सुविधा दिन नसकिने भन्दै संसद सचिवालयले लोगो मात्र दिन सक्ने अडान राखेको थियो ।

संविधानसभा एक पटक मात्र गठन हुने र संविधान जारी गर्न सफल भएकाले संसद् सचिवालयले विशिष्ट लोगो प्रदान गर्न लागेको सचिवालयका प्रवक्ता गौतमले बताए ।
सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने भएका छन् ।



