काठमाडौं, २८ असोज । अधिवक्ता एवम् संविधानविद् डा.भीमार्जुन आचार्यले संसदीय शासन प्रणालीमा मन्त्रिमण्डल हेरफेर गर्नु सामान्य विषय भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता आचार्यले भने, ‘निर्वाचन आचासंहिता लागू भएको अवस्थामा मन्त्रिपरिषद हेरफेर गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न रहन सक्छ । तर, संसदीय शासनप्रणालीमा प्रधानमन्त्रीकै नेतृत्वमा मन्त्रिपरिषद रहने भएकाले कुन मन्त्रीलाई राख्ने वा कुनलाई हटाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकारको कुरा हो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आचारसंहिता लागू भएको दृष्टीकोणले भने मन्त्रिपरिषद विस्तार उचित नभएको उनले बताए । प्रधानमन्त्रीले मन्त्री नियुक्त गरेपछि राष्ट्रपतिले सपथ ग्रहण गराउनै पर्ने संवैधानिक व्यवस्था भएको आचार्यले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले गरेको काममा अन्यथा गर्ने अधिकार राष्ट्रपतिलाई अहिलेको संविधानले दिएको छैन । राष्ट्रपतिले मन्त्रीहरूको सपथ गराउनु पर्छ । होइन भने राष्ट्रपति र प्रधानमन्त्रीबीच द्वन्द्व उत्पन्न हुन्छ ।’

प्रधानमन्त्रीले गरेको सिफारिसलाई राष्ट्रपतिले बदर गर्ने वा अस्वीकृत गर्ने अधिकार संविधानमा नभएको आचार्यले बताए ।

अधिवक्ता आचार्यले सरकार विस्तारको विषय सर्वोच्च अदालतसम्म पुग्न सक्ने पनि बताए । उनले मन्त्रिपरिषद विस्तार राजनीतिक विषय भएको भन्दै सहमतिका आधारमा दलहरूले मिलाउँदा उचित हुने बताए । दैनिक नेपाल बाट सभार