काठमाडौं, ३० असोज– संविधान निर्माणपछि हुन लागेको नयाँ संरचना अनुसारको संघीय संसदको चुनावमा कांग्रेसका प्रभावशाली नेताहरुले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नु भन्दा समानुपातिकबाट सुरक्षित हुन खोजेको देखिएको छ ।

प्रत्यक्ष निर्वाचनको सफलतामा जोखिमी देखिएकै कारण कांग्रेस नेताहरुले समानुपातिकतर्फ आफूलाई सुरक्षित गर्न खोज्नुभएको बुझिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेसका प्रभावशाली नेताहरु पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र केबी गुरुङ यसपटक प्रत्यक्ष चुनाव लड्नुहुने छैन । सिटौलाको नाम कांग्रेसले समानुपातिक तर्फ एक नम्बरमै राखेर बुझाएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिनुहुने बालकृष्ण खाँड, प्रकाशशरण महत, नेतृ सुजाता कोइराला, पुष्पा भुसाल सहितका नेताहरुको नाम समानुपातिकको बन्द सूचीमा छ ।

सिटौला ०६४ सालको पहिलो संविधानसभा चुनावमा गृहमन्त्री रहेकै बेला झापा ३ बाट पराजित हुनु भएको थियो ।  ०७० सालको दोस्रो संविधानसभा चुनावमा भने सिटौला सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

भर्खरै सम्पन्न स्थानीय चुनावको नतिजा अनुसार सिटौलाको क्षेत्रमा एमालेको बलियो अग्रता देखिएसँगै सिटौलाको नाम समानुपातिकमा राखिएको वताइएको छ ।

त्यस्तै इलामबाट सांसद रहंदै आउनु भएका वरिष्ठ नेता कुलबहादुर गुरुङको नाम पनि समानुपातिकमा राखिएको छ । इलामका दुईवटै निर्वाचन क्षेत्रमा गत स्थानीय निर्वाचनको मत परिणामका आधारमा एमालेकै अग्रता छ ।

०७० सालको दोस्रो संविधानसभा चुनावमा रुपन्देहीबाट झिनो मतले निर्वाचित खाँड यसपटक समानुपातिक सूचीमा नाम राखेर सुरक्षित हुन पुग्नुभएको छ ।

पछिल्लो पटक कांग्रेस राजनीतिमा प्रभावकारी भूमिका खेल्नुभएका नेता प्रकाशशरण महतको नाम पनि समानुपातिकमा रहेको कांग्रेस स्रोतले वताएको छ ।

यसअघि पनि समानुपातिकबाटै संसदमा रहनु भएकी नेतृ सुजाता कोइरालालाई पनि कांग्रेसले समानुपातिकमा नाम अघि सारेको छ ।

अर्घाखाँचीमा गत संविधानसभा चुनावमा पराजित हुनुभएकी सांसद पुष्पा भुसालको नाम पनि यसपटक समानुपातिक सूचीमा रहेको छ ।

कांग्रेसका अन्य शीर्ष तहका नेताको निर्वाचन क्षेत्रमा पनि गत स्थानीय निर्वाचनमा एमालेको पकड देखिएको थियो । त्यसमाथि एमाले र माओवादीको चुनावी तालमेल र पार्टी एकताको घोषणाले कांग्रेस नेताहरुले आफ्नो क्षेत्रमा चुनाव जित्न असुरक्षित ठान्नु भएको हो ।

उता एमालेका भने पार्टीका शीर्ष तहका नेता सबै प्रत्यक्षतर्फ चुनाव लड्ने हुनुभएको छ । पार्टीका पदाधिकारी र स्थायी समितिका सबैजसो सदस्यको नाम एमालेले बुझाएको समानुपातिकको सूचीमा छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५, वरिष्ठ नेता झलनाथ खनाल इलाम १, माधवकुमार नेपाल काठमाडौं २, उपाध्यक्ष बामदेव गौतम प्युठान, भीम रावल अछाम, युवराज ज्ञवाली दाङ, अष्टलक्ष्मी शाक्य काठमाडौं ८, महासचिव ईश्वर पोखरेल काठमाडौं ५, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल रुपन्देही, सचिवहरु प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट गुल्मी, पृथ्वी सुब्बा गुरुङ लमजुङ, योगेश भट्टराई ताप्लेजुङ र भीम आचार्य सुनसरीबाट उम्मेदवार बन्दै हुनुहुन्छ ।

यस्तै स्थायी समिति सदस्य शंकर पोखरेल दाङ, सुरेन्द्र पाण्डे चितवन, छविलाल विश्वकर्मा रुपन्देही, सत्यनारायण मण्डल सप्तरी, किरण गुरुङ तनहुँबाट चुनाव लड्दै हुनुहुन्छ । चक्रपथ बाट सभार