काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने, “कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन काँग्रेस एकजुट हुनुपर्ने बताए । “लोकतन्त्र सिध्याउनु भनेको काँग्रेसलाई सिध्याउनु हो,” उनले भने ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेवि संघको जगमा उभिएको पार्टी भएकाले काँग्रेसलाई जोगाउने काम नेवि संघको भएको बताए ।

“पार्टी संकटमा परेको छ यसलाई जोगाउन नेवि संघ एक ढिक्का भएर अगाडि बढ्नुपर्छ,”– नेता पौडेलले भने ।

उहाँले संसारबाट हराउँदै गएको कम्युनिष्ट व्यवस्था नेपालमा लागू हुननसक्ने बताए । “कम्युनिष्टहरुको कुनै आदर्श, मूल्य मान्यता र सिद्धान्त छैन,”– उनले भने । एक दलीय शासन लागू भए लोकतन्त्र र राष्ट्रियता खतरामा पर्ने उनको भनाइ थियो ।

पार्टीका महामन्त्री डा शशांक कोइरालाले नेपालको लोकतन्त्रलाई समाप्त पार्न बाम गठबन्धन भएको बताए। उहनले इतिहास, सिद्धान्त र कार्यकर्ता भएकाले काँग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गरे ।