केन्द्रिय तहमा चुनावी तालमेल र पछि पार्टी एकता गर्ने सहमती भएपछि मोरङमा एकताको सन्देश दिन एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता सकृयताका साथ लागि परेका छन् । केन्द्रिय तहको निर्णयसँगै वाम एकता गरेर चुनावमा विजय हासिल गर्न हौसिएका मोरङका एमाले र माओवादीका नेता कार्यकर्ता एकता अभियानको सन्देश फैलाउन सँगसँगै सक्रृयताका साथ लागि परेका हुन् । दुवै पार्टीले संयुक्त रुपमा तिहारको शुभकामना बाँडेका छन् । हिजो एक अर्कामा आरोप प्रत्यारोप गर्दै धारेहात लगाउँदै हिँड्ने नेता कार्यकर्ताहरु पनि आजभोली सँगै अंकमाल गरेर वाम एकताको सन्देश दिन व्यस्त छन् ।
वाम एकताको सन्देश दिनकै लागि बुधबार मोरङको उर्लाबारीमा एमाले र माओवादी केन्द्रका नेताहरुले संयुक्त भेला गरेर शुभकामना आदान प्रदान मात्र गरेनन् आपसमा अंकमाल गरेर हिजोका तिक्तता भुलेर एक भएको घोषणा समेत गरे । फुटको कारण विगतमा हार भएको भन्दै अव वाम एकता बेजोडका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
एमाले र माओवादी केन्द्र उर्लाबारी नगर कमिटीको संयुक्त आयोजनामा भएको शुभकामना कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी पौडेल (विवेक), एमाले उर्लाबारी नगर अध्यक्ष अग्नी भट्टराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रेम मिभक, एमालेका प्रदेश सल्लाहकार घनश्याम खतिवडा, प्रदेश सदस्य बलबहादुर घिसिङ, जिल्ला सचिवालय सदस्य लक्ष्मीदेवी भण्डारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य नगेन्द्र धिमाल लगायतले वाम एकता सफल भएरै छाड्ने दाबी गरे ।केन्द्रमा भएको सहमती अनुसार मोरङमा वाम एकतालाई बलियो बनाउन सबै संघ र प्रदेशको निर्वाचन क्षेत्रमा संयुक्त गतिविधि गर्न थालेको माओवादी केन्द्र मोरङका संयोजक गोपी अछामीले बताए ।



