काठमाडौँ । नेपाली कांग्रेस ओखलढुंगाको प्रदेशसभा अन्तर्गत ‘क’ मा लिलाबल्लव दाहाल (काका) को ठाउँमा मित्रसेन दाहाललाई उम्मेद्ववार बनाएपछि भाँडभैलो भएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्य समितिले मित्रसेनलाई उम्मेद्ववार बनाएपछि यसअघि टिकट दिएको भन्दै काठमाडौं बोलाइएका काकाले उक्त निर्णय तत्काल नसच्याए पार्टीमा विद्रोह गर्ने चेतावनी दिएका हुन् ।
पार्टी निर्णयविरुद्ध शुक्रबार साँझ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी नेतृत्व पैसाको चलखेलमा लागेकोले आफूजस्तो इमानदार कार्यकर्तालाई पाखा लगाएर असक्षम व्यक्तिलाई टिकट बेचिएको आरोप लगाएका हुन् ।
'अघि साँझ चार बजेसम्म मलाई नै टिकट दिने तयारी थियो, हामी तीनैजना रामहरि खतिवडा, प्रदीप सुनुवार र म आँफै टिकट लिन बालुवाटार पुगेका थियौँ, झण्डै ४ घण्टा म बालुवाटारमा बसें', उनले भने, 'तर एकाएक मेरो ठाउँमा समाजसेवाको नाममा २० करोडको आश्रम काठमाडौँमा बनाएका टुरिष्ट मित्रसेनलार्इ टिकट दिइयो ।'
दुर्इ दिनअघिमात्रै पनि उनले आफू फोहोरी खेलबाट बाहिरिएकोले अब आश्रममै पूर्ण रुपमा व्यस्त हुने मित्रसेनलाई टिकट दिनु भनेको पैसाको चलखेल नै भएको उनको आरोप थियो ।
कार्यक्रममा महासमिति सदस्यहरु कुमार लुइँटेल, कमल तामाङ, महाधिवेशन प्रतिनिधिहरु रामजी बास्तोला, तरुण दल ओखलढुंगाका अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र रुम्दाली, पूर्व उपसभापति सिताराम श्रेष्ठ, जनजाति संघका जिल्ला अध्यक्ष लेखबहादुर राई र जिल्ला सदस्य अजय लुइँटेलले टिकट वितरणमा असहमति जनाउँदै तत्काल नसच्याए विद्रोहमा उत्रिने चेतावनी दिएका हुन् ।
त्यस्तै टिकट वितरणमा धाँधली भएपछि ओखलढुंगाका अधिकांश नेताहरुले सामुहिक राजीनामा दिएका छन । पत्रकार सम्मेलनबाट उनीहरुले सामुहिक राजीनामा गरेका हुन । विहिबार साँझ टिकट फाइनल गरी शुक्रबार टिकट दिने बेलामा फरक नाम आएपछि पैसाको चलखेल भएको नेताहरुको आरोप छ ।










