गोरखा, कात्तिक ४ । सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई कांग्रेससँगको गठबन्धनबाट गोरखा २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने भएका हुन् । यता बाम गठबन्धनबाट माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ उठ्ने भएका छन् । उनी बाम गबन्धनका साझा उम्मेदवार हुन् भने डा. बाबुराम भट्टराई लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन ।

क्षेत्र नं. २ मा माओवादीले नारायणकाजीलाई टिकट दिएपछि यहाँको चुनावी भिडन्त रोचक हुने भएको छ । दुई हेविवेट नेताहरू भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेसको शुक्रबार साँझ बसेको बैठकले भट्टराईलाई क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साझा उमेदवार बनाउने निर्णय गरेको कांग्रेस स्रोतले जनाएको छ । नयाँ शक्तिसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसले क्षेत्र नं. २ मा भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको हो ।

बाबुरामले गोरखा २ बाट कांग्रेससँगको तालमेलमा चुनाव लड्ने भएपनि आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुङ्गो भने आइतबार लाग्ने स्रोतको भनाइ छ ।

गोरखा क्षेत्र नं. १ मा भने कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई टिकट दिएको छ । क्षेत्र नम्वर २ मा भट्टराइलाई सघाउने भएपछि क्षेत्र नं. १ मा नयाँ शक्तिले कांग्रेसलाई सघाउने सहमति भएको कांग्रेस स्रोतले बतायो ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि कांग्रेसले उमेदवारको टुङ्गो लगाएको छ । क्षेत्र नं. १ को (क) मा धिरन थापा र (ख)मा राजेन्द्र बजगाईलाई टिकट दिएको छ । त्यस्तै क्षेत्र नं. २ को (ख)मा प्रकाश चन्द्र दुवाडी उमेदवार बन्ने भएका छन् भने (क) मा भने नयाँ शक्तिबाट हरिशरण आचार्यलाई लाई दिने सहमति छ ।

यता बाम गठवन्धनका माओवादी र एमालेले पनि गोरखामा उमेदवारको टुङ्गो लगाइसकेका छन् । क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यका लागि माओवादीका हरि अधिकारीले टिकट पाएका छन् भने क्षेत्र नं. २ मा नारायणकाजी श्रेष्ठको उमेदवारी पक्का भएको छ ।

यस्तै वाम गठबन्धनबाट गोरखा क्षेत्र नं. १ को (क)मा माओवादीका लेखबहादुर थापाले टिकट पाएका छन् भने (ख)मा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेतले टिकट पाएका छन् । गोरखामा एमालले एउटा प्रदेश मात्र पाएको हो ।

क्षेत्र नं. २ को (क)बाट माओवादीकी कमला नहर्की र (ख)मा अमर तमुले टिकट पाएका छन् । माओवादीका हितराज पाण्डे र चुडामणि खड्का भने प्रतिनिधिसभाको समानुपातिकमा बसेको बुझिएको छ ।