काठमाडौं, ४ कात्तिक । राप्रपाको जिल्ला कार्यसमितिसहित एमालेमा प्रवेश गरेका गुन्डा नाइके दीपक मनाङगे उर्फ राजीव गुरुङलाई एमालेले प्रदेश सभाका लागि टिकट दिएको छैन ।
टिकट नपाएपछि मनाङगे चकित परेका छन् । मनाङगेको नाम प्रदेश सभाका लागि सिफारिस भएपछि एमालेभित्रै र बाहिर बिरोध हुँदै आएको थियो ।
एमालेले मनाङमा प्रतिनिधि सभा सदस्यमा पोल्देन छोपाङ गुरुङलाई टिकट दिएको छ । प्रदेश सभामा ‘१’ मा खण्ड लामा गुरुङ र ‘२’ मा दोर्जे डण्डल गुरुङले टिकट पाएका छन् ।
गुन्डा नाइके मनाङगेले आफूलाई टिकटबाट रोक्न ठूलो प्रयास भएको भन्दै विज्ञप्ति समेत जारी गरेका थिए । एमालेको निर्णयले गुन्डा नाइके मनाङगेलाई प्रदेश सभाको विधायक बन्ने सपनामा धक्का लागेको छ ।
एमालेका अध्यक्ष केपी ओलीले केही दिन अगाडि प्रज्ञाभवनमा आयोजित सिस्नुपानी नेपालको देउसी भैलोपछि पत्रकारसँग कुरा गर्दै कुनै पनि गुन्डाले टिकट नपाउने प्रतिक्रिया दिएका थिए ।
दैनिक नेपाल बाट सभार गरेको










