एकसाताअघि अपहरणमा परेका एक भारतीय व्यापारीलाई प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित अम्बरबहादुर मगरको घरबाट सकुशल मुक्त गराएको छ । व्यापारीलार्इ अपहरण मुक्त गराउने क्रममा अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
जिल्लाको कञ्चनरुप नगरपालिका–८ बाट भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको भीमनगर ग्राम पञ्चायत–१० घर भएका कपडा व्यापारी अमितकुमार शारदालाई प्रहरीले शुक्रबार राति सकुशल मुक्त गराएको छ ।
उहाँको अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कञ्चनरुप–४ का अम्बरनाथ विश्वास, सोही नगरपालिका वडा नंं ६ का शैलेन्द्रकुमार गुप्ता र वडा नम्बर ७ का पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाको साथबाट दुई थान कटुवा पेस्तोल र अपहरण गर्ने क्रममा प्रयोग भएको डिएल ३ सिएए ८९५६ नम्बरको भारतीय कारसमेत बरामद भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।
पक्राउ परेका सबैजनाविरुद्व अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइने प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । ब्यापारी शारदाको अपहरण फिरौती लिन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिएको एसपी सिंहले बताउनुभयो ।
३ करोड फिरौती असुलेर त्यसलार्इ बाँडफाड गर्ने योजना अपहरणकारीहरुले बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपहरणमुक्त भएका ब्यापारी शारदाले आफू रकम लिएर भारतीय बजार भिमनगर तर्फ जान लागेका बेला कञ्चनपुरको हटिया नजिक भारतीय कारमा हालेर लगेपछि अपहरणमा परेको थाहा पाएको सुनाउनुभयो । ।
व्यापारी शारदाको गत असोज २९ गते साँझ ५ बजे कञ्चनरुप नगरपालिका–८ स्थित व्यस्त सडकबाटै अपहरण भएको थियो।



