स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट एमालेको उम्मेदवार बनेका देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट विजयी गराउनु आफ्नो जिम्मेवारी भएको बताएको भोलिपल्ट रोचक संयोजक जुरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका उनलाई प्रचण्डले समेत भेटेका छन् । बुधबार ओलीलाई भेट्न बालकोट पुगेका ज्ञवाली र सोहि समयमा ओली निवास पुगेका प्रचण्डबीच पनि भेटवार्ता भएको थियो । भेटपछि प्रचण्डपुत्र प्रकाश दाहालले ज्ञवालीसँग लिएको तस्बिर फेसवुक मार्फत सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘बाम एकताले पैदा गरेको निकटता ।’
स्रोतका अनुसार बालकोटमा ओली–ज्ञवाली तथा ओली–प्रचण्ड र ज्ञवालीबीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटमा वाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर–३ को उम्मेदवार बन्ने तयारीमा रहेका प्रचण्डलाई जिताउने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।
स्थानीय तहको निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहालसँग प्रतिस्पर्धा गरेका उनी लामो तनावपछि अन्ततः मेयरमा पराजित भएका थिए । त्यतिबेला रेणु नेपाली कांग्रेससँगको गठबन्धनको समर्थनमा चुनाव लड्दा ज्ञवाली एक्लै चुनाव लडेका थिए । तर, वैशाख १४ गते मतपत्र च्यातिएपछि मतगणना रोकिएको थियो । पछि सर्वोच्च अदालतको आदेशपछि पुनः मतदान भइ रेणु विजयी भएकी थिइन् ।
रेणु विजयी भएसँगै एमाले–माओवादीबीच कटुसम्बन्ध रहेको तथा वाम गठबन्धनबाट प्रचण्ड चितवन क्षेत्र नम्बर ३ मा चुनाव लड्न लागेपछि एमालेको समर्थनमा आशंका उत्पन्न भइरहेको थियो । सामाजिक संजालमा अनेकौ टिप्पणी पनि भएका थिए । ज्ञवालीले प्रचण्डलाई जिताउनु आफ्नो जिम्मेवारी हुने भनि मंगलबार सामाजिक सञ्जालमार्फत आफनो धारणा बाहिर ल्याएका थिए । त्यसको भोलिपल्टै ओली निवासमा ज्ञवालीसँग प्रचण्डको भेट भएको हो ।
यसो त ज्ञवालीले चितवनमा वामपन्थी एकताको सबैभन्दा पहिला समर्थन गर्ने व्यक्रि आफू भएको समेत ज्ञवालीले बताएका छन् । ज्ञवालीले देश, जनता र राष्ट्रको हितमा हुने कुनै पनि सकारात्मक कामलाई व्यक्तिगत लाभ हानीजोड्ने काम आफूबाट नहुने समेत स्पष्ट पारेका छन् ।
ज्ञवालीले प्रचण्ड वाम गठबन्धनको उम्मेदवार बनेर चितवन आए जिताउने जिम्मेवारी आफ्नो भएको बताउनु तथा आज पुन बालकोटमा रोचक भेटवार्ता हुनुले चितवनमा विगत विर्सेर वाम एकतामा ज्ञवाली कटिबद्ध रहको सन्देश प्रवाह गराउने प्रयासको रुपमा धेरैले बुझेका छन् ।
यसवारे प्रचण्ड र ओलीको सचिवालयबाट औपचारिक प्रतिक्रिया भने केही आएको छैन् ।



