नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसले नेपालमा समाजवादको स्थापना गर्न नसक्ने बताएका छन् ।
शुक्रबार अक्टोबर क्रान्ति दिवसको अवसरमा राजधानीको खुलामञ्जमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले विश्वमा पुँजीवादी आतंक भएको र त्यो आतंकले नेपालका राजनीतिक दलहरुलाई पनि छोएको भन्दै एमाले, माओवादी र काँग्रेसले समाजवादको स्थापना गर्न नसक्ने बताएका हुन् । उनले भने, ”पुँजीवादी व्यवस्थाले जनतालाई दमन गरेर सत्ता टिकाउन चाहान्छ, पुँजीवादको हावाले नेपालका राजनीतिक दलहरुमा पनि देखा पर्न थालेको छ, यस व्यवस्थाले गर्दा विश्वका कतिपय देश अहिले पनि युद्धमा नै छन्, विश्वभर अहिले समाजवादको आवश्कता रहेको छ, त्यसको जन्म सर्वहारा वर्गले मात्र गर्न सक्छ ।” बार्ह खरी मा खबर रहेको छ।
उनले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलनलाई छोडेर समाजवादको जन्म गराउन खोजेको तर जन्म नहुँदै गर्वमा तुहिइएको पनि बताए ।
उनले एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनलाई खाम गठबन्धनको संज्ञा दिँदै समाजवादको स्थापना आफ्नो पार्टीले गर्ने दावी गरे । उनले अगाडि भने, ”समाजवादको स्थापना गर्छु भनेर बाबुरामजी लाग्नु भयो तर जन्म नहुँदै उहाँको गर्व तुहिइयो, अहिले फेरी खाम जनतालाई छलकपट गरेर समाजवादको स्थापना गर्छौं भन्दै केपी र प्रचण्ड लागेका छन्, यो सबै नौटंकी नाटक हो, समाजवादको स्थापना नेपाल कम्युनिष्ट पार्टीले मात्र गर्न सक्छ ।”
उनले आफू सरकारमा पनि सहभागी भई वाम गठबन्धनमा जोडिएर माओवादी केन्द्रले नेपाली काँग्रेसलाई धोका दिएको पनि बताए ।
नेता विप्लवले माओवादीले आफ्नो पार्टीलाई राम्रोसँग मिलाउन नसकेको कारण आफूलगायतका विभिन्न माओवादी घटकहरुले पार्टी छोडेको बताउँदै उनले अन्तिम अवस्थामा आएर एमालेसँग विलय हुन प्रचण्ड गठबन्धनमा बाँधिएको आरोप पनि लगाए । उनले थपे, ”माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कहिले पनि आफ्नो पार्टीलाई ठीक ढंगमा राख्न सक्नुभएन, जसको कारण हामी बाहिरियौं, उहाँहरु अहिले अन्तिममा एमालेसँग विलय हुन गठबन्धनमा बाँधिनु भएको छ ।”
उनले सच्चा कम्युनिष्ट शक्तिहरु अब एक हुनुपर्ने भन्दै माओवादी केन्द्रका देशभक्त नेताहरुलाई आफ्नो पार्टीमा आउन आह्वान समेत गरे ।
उनले एमालेसँगको वाम गठबन्धनमा जोडिएसँगै माओवादी पार्टीको कुनै नीति नियम आदर्श मूल्य मान्यता नभएको भन्दै माओवादी पार्टीको विसर्जन भएको बताएका छन् । उनले भने, ”प्रचण्डजीले क्रान्ति बेचेर बस्नु भएको छ । अब माओवादी केन्द्रको कुनै मुल्य छैन, माओवादी केन्द्रको विसर्जन भयो ।”
उनले नेपालका पछिल्लो समय नेताहरु विदेशीको इशारामा चलेको उल्लेख गर्दै नेपालको भूमि र नेपाली जनता असुरक्षित रहेको बताए ।
नेता विप्लवले नेपाली काँग्रेसले नेपालमा लामो समयसम्म सासन गरेपनि देशको निम्ती केही गर्न नसकेको टिप्पणी समेत गरे । उनले भने, ”नेपाली काँग्रेसले लामो समय सासन गर्यो तर, देशको निम्ती केही गर्न सकेन । जसको कारण काँग्रेस दिन-दिनै सकिँदै गएको छ, काँग्रेस भन्ने पार्टी अब नेपालमा रहदैन, म्युजियममा राख्नुपर्छ ।”



