काठमाण्डौ । एमाले नेतृत्वको संयुक्त वाम गठबन्धनले उपत्यकाकाको निर्वाचन क्षेत्रको बाँडफाँड टुंग्याएको छ । उपत्यकाका तीन जिल्लामा रहेको ४५ सिटमध्ये एमालेले ३४ र माओवादीले ११ सिट पाउने निश्चित भएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल निकट श्रोतका अनुसार उपत्यकामा रहेका तीन जिल्लाको प्रतिनिधिसभाको १५ सिटमध्ये माओवादी ४ सिट पाउने निश्चित भएको छ भने एमालेको भागमा ११ सिट परेको छ । प्रदेशसभातर्फको ३० सिटमध्ये माओवादीले ७ सिट पाउने र एमालेले २३ सिट पाउने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीमध्ये माओवादीले काठमाण्डौबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ६,८ र १० पाउने भएको छ भने ललितपुरको क्षेत्र नम्बर ३ माओवादीले पाउने भएको छ । त्यस्तै माओवादीले प्रदेशसभातर्फ काठमाण्डौबाट क्षेत्र नम्बर ३,६ र १० मा दुईमध्ये एक–एक सिट पाउने निश्चित भएको श्रोतको दाबी छ ।

काठमाण्डौका ७ प्रतिनिधिसभा र १७ प्रदेशसभाका निर्वाचनमा अब माओवादीले एमालेका उम्मेद्वारलाई भोट माग्नुपर्नेछ । त्यस्तै, ललितपुरमा प्रदेशसभातर्फ तीनवटै क्षेत्रबाट माओवादीले एक–एक सिट पाउने भएको छ भने एमालेले प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ र २ पाएको छ, एमालेले प्रदेशमा तीनै क्षेत्रका एक–एक सिट पाउने भएको छ ।

त्यस्तै माओवादीले भक्तपुरबाट प्रदेशसभाका लागि एक सिट पाउनेछ भने अरु दुवै प्रतिनिधिसभा र तीन प्रदेशसभाका लागि एमालेलाई सघाउने भएको छ ।