ढल्केबर मुजफ्फर आयोजनाको सवस्टेशन निर्माणको ठेक्का सम्झौता तोडिएसँगै सुख्खा मौसमका लागि योजनामा राखिएको विद्युत घट्ने पक्का भएपछि प्राधिकरणसामु चुनौती खडा भएको हो । तर जसरी पनि लोडसेडिङको समस्या हल गर्न कुलमान घिसिङ र उनको टोली लागिपरेको छ । भारतबाट आयात गरिएको विद्युतमा फेरि थप गरेरै भए पनि टोली लोडसेडिङ हुन नदिने अभियानमा लागेको छ ।

सुख्खा मौसममा विद्युत आपूर्तिमा समस्या आउने देखिएरै कुलमानको टोलीले यसअघि एलइडि बल्ब खरिद गरी नेपाली बजारमा बाँड्ने प्रक्रिया अगाडि बढाएको थियो । तर सो प्रक्रिया विवादमा आएपछि स्थागित गरिएको छ । लोडसेडिङ अन्त्य गर्ने अभियानमा देखिएको यो विवाद नै सुख्खा मौसममा प्राधिकरणको योजनाको ठूलो चूनौती रहेको प्रवक्ता प्रबल अधिकारी बताउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस वर्षको सुख्खा मौसममा भारतबाट थप बिजुली आयात गरेर भए पनि लोडसेडिङ हुने नदिने महाअभयिानमा लागेको, निर्देशक कुलमान घिसिङ, प्रवक्ता प्रवल अधिकारी सहितको टोली शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेको छ । चिनियाँ ठेकेदारको बदमासीका कारण आगामी हिउँदमा ढल्केबर मुजफ्फर सवस्टेशनबाट थप विद्युत् आयात हुन नसकेपछि टनकपुर मार्गलाई वैकल्पिक स्रोतको रुपमा प्रयोग गर्न लागिएको हो ।

प्राधिकरणको कार्य तालिकाअनुसार यसै महिना ढल्केबर सवस्टेशनको काम सम्पन्न हुने थियो । ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २ सय २० केभीमा चार्ज गरेर सोही प्रसारण लाइन मार्फत २ सय मेगावाट विद्युत् आयात गर्ने तयारीमा प्राधिकरण तालिकामा धक्का लागेपछि भारतसँग गुहार गर्नुपरेको अधिकारीहरु बताउँछन् ।

प्राधिकरणकाअनुसार टनकपुर नाकाबाट थप ४० मेगावाट विद्युत् आयातको विषयमा नयाँ दिल्लीमा रहँदा छलफल हुने कार्यसूची रहेको छ । प्राधिकरणले टनकपुरमा १०० एमभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ ।

टनकपुरमा रहेको प्राधिकरणको सवस्टेशनको स्तारोन्नती गरेर ८० मेगावाट विद्युत् आयात गर्ने सोचमा प्राधिकरण छ । नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त समितिको बैठकले समेत सो स्थानबाट विद्युत् आयात गर्न सैद्धान्तिक सहमति दिएको प्राधिकरणले जनाएको छ ।

ढल्केबर मुजफ्फपुर प्रसारण लाइनको सवस्टेशन निर्माणको ठेक्का सम्झौता तोडिएपनि प्राधिकरणले वार्षिक १ अर्ब रकम प्रसारण शुल्कवापत तिर्नुपर्नेछ । हाल सो प्रसारण लाइनबाट १४५ मेगावाट विद्युत् आयात भइरहेको छ । प्राधिकरणले यसअघि सो लाइनको सवस्टेशन निर्माण भएपछि भारतबाट आयात हुने थप बिद्युत सो मार्गबाट ल्याउने योजना बनाएको थियो ।