दोस्रो चरणमा मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा आ–आफ्ना उम्मेदवार चयन गर्न राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका रहेकोले दलहरुलाई उम्मेदवार छान्न चटारो परेको हो ।
एमाले र माओवादी गठबन्धनको कार्यदलले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका उम्मेदवार टुंगो लगाइसकेको छ । कार्यदलले सिट बाँडफाँड सम्बन्धी सहमति आ–आफ्नो पार्टी नेतृत्वलाई दिएको छ । आज शुक्रवार बेलुकीसम्म बस्ने शीर्ष नेताहरुको बैठकले अनुमोदन गरेपछि उक्त सिट बाँडफाँडले अन्तिम रुप पाउनेछ । कार्यदलका संयोजक एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कार्यदलले क्षेत्र निर्धारण गरेर दुबै दलका अध्यक्षहरुलाई प्रतिबेदन बुझाईसकेको जानकारी दिनुभयो ।
महासचिव पोखरेलले नेकपा एमाले र नेकपा माओबादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बसेर कार्यदलको प्रतिबेदन अनुमोदन गरेपछि सम्भवतः आजै नभए भोलिसम्ममा बाम गठबन्धनका उम्मेदवारहरुको टुंगो लाग्ने जानकारी दिनुभयो । शुक्रवार नै विहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
यस्तै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन कार्यदलको बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा, खासगरी प्रदेश नम्बर २ को प्रतिनिधिसभातर्फको ३२ र प्रदेशसभातर्फको ६४ स्थानमध्ये कांग्रेस, राजपा र संघीय फोरमबीच कति– कति स्थानमा तालमेल गर्ने भन्नेबारेमा छलफल भईरहेको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो ।
प्रदेश नम्बर २ को प्रतिनिधिसभातर्फको ३२ स्थानमध्ये राजपा र संघीय फोरमले २४ स्थान आफूलाई छुट्ट्याउनुपर्ने दाबी कांग्रेससँग गरेको संघीय फोरमका महामन्त्री रामसहाय यादबले बताउनुभयो ।



