नेपालले बीआरआईअन्तर्गत सहयोग परियोजना प्रस्ताव गर्न नसकेपछि चीनले कूटनीतिक च्यानलबाट असन्तुष्टि पोख्न थालेको एक उच्च सरकारी अधिकारीले बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।
निरन्तर चासो
-नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले प्रधानमन्त्री तथा अन्य सरकारी अधिकारीसँगका हालैका भेटमा बेल्ट एन्ड रोड अवधारणा कार्यान्वयनका लागि नेपालका तर्फबाट भएका प्रयासबारे निरन्तर चासो राख्न थालेकी छन् ।
-चिनियाँ राजदूतले प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटमा देउवाले बेल्ट एन्ड रोड अवधारणामा नेपाल सदस्य बनिसकेको र त्यसबाट आर्थिक विकासमा लाभ लिन चाहेको बताएका थिए ।
-‘हामी बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कमा चीनसँग सहकार्य अघि बढाउन चाहन्छौं । प्रधानमन्त्रीले यही कुरा राजदूत युसमक्ष राख्नुभएको हो’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने ।
चिनियाँ अधिकारीको प्रश्न
चीनस्थित नेपाली राजदूत लीलामणि पौड्यालसँगको भेटमा पनि चिनियाँ अधिकारीले ‘बेल्ट एन्ड रोडमा अघि बढ्ने नेपालको आफ्नो योजना र रणनीति कहाँ छ ? ’ भन्दै सोध्ने गरेका छन् । नेपालले बीआरआईअन्तर्गत चिनियाँ सहयोगका लागि आग्रह गर्न सकिने परियोजना छनोट गर्न देखाएको सुस्तताप्रति चीनले चासो देखाएको हो ।
सहकार्य अघि बढ्ने आशा
तीन महिनाअघि नेपाल आएका चिनियाँ उपप्रधानमन्त्री वाङ् याङ्ले बीआरआई अन्तर्गतको सहकार्य अघि बढ्ने आशा उच्चस्तरका भेटमा राखेका थिए ।बीआरआईअन्तर्गत चिनियाँ लगानीका लागि प्रस्ताव गर्न सकिने परियोजना छनोट गर्न सरकारले दुई उच्चस्तरीय संयन्त्र बनाएर काम अघि बढाएको थियो ।
२०१३ मा घोषणा
एसियालाई युरोप र अफ्रिकासँग व्यापार र पूर्वाधार नेटवर्कले आपसमा जोडेर आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले चिनियाँ नेतृत्वले बेल्ट एन्ड रोड अवधारणा सन् २०१३ मा घोषणा गरेको थियो । बेल्ट एन्ड रोड अवधारणा आफैँमा नयाँचाहिँ होइन । चीनले परापूर्वकालमा आफूले अरू मुलुकसँग व्यापारका लागि प्रयोग गरेका व्यापारिक मार्गलाई नै नयाँ स्वरूपमा ब्युँत्याउन बेल्ट एन्ड रोड अवधारणा प्रस्ताव गरेको हो ।



