तीन दिनदेखि विर्तामोडमा लगाइएको कर्फ्यु आइतबार साँझबाट हट्नसक्ने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन् । प्रजिअ तिवारीले आइतबार साँझसम्मको परिस्थिति हेरेर कर्फ्यु हटाउने तयारी गरिएको बताए । शनिबार साँझ नै कर्फ्यु हटाउने तयारी गरिए पनि परिस्थिति सामान्य बनिनसकेको भन्दै प्रशासनले कर्फ्युलाई यथावत राखेको छ । कर्फ्युका कारण जनजीवन प्रभावित बनेको छ । झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी पक्षका अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको राजनीतिक दल, स्थानीय प्रशासन र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५–२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको थियो । मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने समेत सहमति भएको छ । बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय पनि गरेको छ ।
प्रशासनले पस्चिम तर्फ चारपाने, पूर्वमा बुट्टाबारी चिया बगान, उत्तरमा महानन्द चोक, दक्षिणमा विर्ताबजार सम्म कर्फयू क्षेत्र घोषणा गरेतापनी प्रहरीले उक्त क्षेत्रमा कर्फयू लागु गर्न सकेन । विर्तामोड मुक्तीचौक देखी तिनसय मिटर चारैतर्फ कर्फयू लगाउदै आएको प्रहरीले आज थप एकसय मिटर क्षेत्रमा कडाईकासाथ सर्वसाधारणलाई आवत जावत गर्न दिर्इएको छैन । तर दिनभरीलागेको कर्फ्यु आइतबार साँझबाट हट्नसक्ने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन् ।



