सिरहाको कर्जन्हा नगरपालिका २ मा भवेशकुमारको हत्या उनकै स्कुले साथी र दिदी मिलेर गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरी नायब उपरीक्षक गज्जुसिद्धी बज्राचार्यका अनुसार कुसुमलाल यादवका १३ वर्षीया छोरा भवेशको हत्या उनकै स्कुले साथी संजयकुमार साह र दिदी प्रियङ्काबाटै भएको रहस्य खुलेको हो ।
प्रियङ्का मृतक भवेशकै ठूलो बुबाकी छोरी हुन् । संजय धनुषा धनौजीकट्टी ५ का नथुनी साहका छोरा हुन् । उनी कर्जन्हा नगरपालिका २ स्थित मामा नविन साहको घरमा बसेर पढ्दै छन् । हत्याका अभियुक्त १४ वर्षीय संजय र १६ वर्षीया प्रियङ्कालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।
‘कार्तिक १ गते भैंसी चराउन जाँदा कमला नदी किनारको नर्सरीमा प्रियङ्कासँग संजयले यौन सम्पर्क राखेका थिए’, प्रहरी नायब उपरीक्षक बज्राचायले भने, ‘यौन सम्पर्क राखेको दृष्य भवेशले देखेका थिए । त्यसैले अरुलाई सुनाइदिन्छ कि भनेर प्रियंका र संजयले उनको हत्या गरेका अनुसन्धानबाट खुलेको छ ।’
गत कात्तिक ३ गतेदेखि घरबाट हराएका भवेशको शव घर ननिकैको सिशमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा ५ गते बेलुका फेला परेको थियो । प्रियंकाले नै साथीहरुसँग भैसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए ।



