पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको जीवनलाई अब पुस्तकमा पढ्न पाइने भएको छ। पूर्वी तराईको अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका राजनीतिज्ञको जीवनीपुस्तक तराईवासीको महान पर्व छठको अवसर पारेर पब्लिकेसन नेपालयले घोषणा गरेको हो।

केहि वर्षअघि मुलुक कठिन राजनीतिक मोडबाट गुज्रिरहेकै बेला कमै चिनिएका राजनीतिज्ञ पहिलोपटक मन्त्री बनेका थिए। मन्त्री बनेको छोटो समयमा चर्चा कमाएका पण्डित मन्त्रीले कतिसम्म अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण बनेका थिए। आम मानिसका दैनिक सरोकारभन्दा अलिक पर कर्मचारीको व्यवस्थापन गर्ने मन्त्रालय सम्हालेका पण्डितका नेकपा (एमाले) का नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइ पुस्तकमा समेटिएको नेपालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् । ‘पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्न थालेपछि परिवर्तनको पाइला आफैंबाट चाल्ने अठोट गरेको थिएँ,’ पण्डित भन्छन्, ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिका साथ पुस्तकमा राखेको छु।

समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास छ।’ ‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’ ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ नामाकरण गरिएको यो पुस्तक यसै महिनाभित्र सार्वजनिक हुने जनाइएको छ। पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।