दमक/झापा सहित मेची अञ्चलमा बाम गठबन्धनसंग राप्रपा पनि सामेल हुने भएको छ । यसका लागि बुधबार बिहान सहमतिपत्रमा हस्ताक्षर हुने जनाईएको छ । काँग्रेसले सहमति पालना नगरेको भन्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले काँग्रेससंगको सहमति भंग भएको बताएका थिए ।
झापा ३ मा लिङ्देनलाइ काँग्रेसले छाड्ने सहमति भएकोमा काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले यसलाइ अस्वीकार गरेका थिए । त्यसपछि यहाँ काँग्रेसले सिटौलालाइ नै उठाउने निर्णय अन्तिम समयमा गरेको थियो ।
यो घटनाक्रमले रुष्ट बनेको राप्रपा र लिङ्देनले यो क्षेत्र नछाड्ने बताएपछि बाम गठबन्धनसंग तालमेलको कसरत भएको हो । श्रोतका अनुसार बिर्तामोडमा बामगठबन्धन र राप्रपाबीच छलफल भएको थियो ।
छलफलमा लिङ्देनले झापा ३ सहित एउटा प्रदेशको टिकट पनि मागेको बताइएको छ । बाम गठबन्धन लिङ्देनलाइ छाड्न तयार रहेको एमालेका एक जिल्ला नेताले बताए ।
उनले झापा ३ लिङ्देनलाइ छाड्ने र राप्रपाले झापा सहित इलाम, पाँचथर र ताप्लेजुङमा सहयोग गर्ने सहमति हुनेछ । बामगठबन्धनमा मेची अञ्चलमा राप्रपा औपचारिक रुपमा नै सामेल हुने ति नेताले जनाएकाछन् । यसले काँग्रेस नेता सिटौलालाइ ठूलो धक्का लाग्न सक्ने आँकलन गर्न थालिएको छ ।
यस बिषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच समेत काठमण्डौमा बार्ता भएको एमालेका एक केन्दिय सदस्यले जनाएकाछन् ।
उनका अनुसार मोटामोटी ३ नम्बर क्षेत्र एमालेले छाड्ने सहमति भएको छ । स्थानीय स्तरमा नै यसलाइ अन्तिम रुप दिन ओलीले निर्देशन दिए अनुसार मंगलवार बिर्तामोडमा छलफल भएको थियो । बुधबार बिहान फेरी बार्ता बस्ने र यस बिषयमा अन्तिम टुंगो लाग्ने जनाइएको छ ।
बामगठबन्धनसंगको छलफल सकारत्मक बनेको राप्रपाका केन्द्रिय सदस्य लक्ष्मिप्रसाद संग्रौलाले बताएकाछन् । उनका अनुसार केन्द्रले जिल्लालाइ नै गठबन्धनका लागि अधिकार दिएको र मंगलवार बामगठबन्धसग छलफल भएको पुष्टि गरे । यसलाइ निष्कर्षमा पुर्याउनका लागि महामन्त्री लिङदेनको संयोजकत्वमा समिति समेत बनेको उनले बताएकाछन् ।



