रुपन्देही, १५ कात्तिक– राष्ट्रिय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) सहित ३ केन्द्रीय सदस्य र रुपन्देहीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको समुह एमाले प्रवेश गरेपछि यहाँको चुनावी आकडा नै बदलिएको छ । राजपाका केन्द्रीय पदाधिकारी सहित स्थानीय तहमा निर्वाचित प्रतिनिधि सबै सोमबार एमाले प्रवेश गरेका हुन् ।
राजपाका राष्ट्रिय उपाध्यक्ष यादवलाई एमाले उपाध्यक्ष बामदेव गौतम र उप महासचिब बिष्णु पौडेलले पार्टी प्रवेश गराउनु भएको थियो । पूर्व सांसद यादव रुपन्देही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने सम्भावना छ । उहाँले यसअघि यसै क्षेत्रबाट संबिधानसभा सदस्यमा विजय हासिल गर्नुभएको थियो । रुपन्देहीमा एमाले कमजोर मानिएको मर्चवार क्षेत्रमा यादवको एमाले प्रवेशले तरंग ल्याएको छ । उहाँसँगै समरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्र शुक्ला (बब्लु) पनि एमाले प्रवेश गर्नुभएको छ ।
समारोहमा राजपाका केन्द्रीय सदस्य मुरारीलाल अग्रवाल, हजरत बिलाल, अम्बिका त्रिपाठी, पल्लबी शुक्ला, पूर्व प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खा, नेता ओमप्रकाश दुवे, राप्रपाका जिल्ला सदस्य रामबृक्ष यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड १० का वडाध्यक्ष मुवारत अली लगायतका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।
पूर्व मन्त्री गुल्जारीले मधेशी नेताले जनतालाई भ्रममा राखेर राजनीति गरेको भन्दै देश विकास र राष्ट्रियताको रक्षाका लागि एमालेको विकल्प नभएको बताउनुभयो । ‘मधेशी जनता भ्रममा रहनु हुँदैन, अब मधेशमा विकास गर्ने बेला भएको छ’ यादवले भन्नुभयो, ‘त्यसका लागि एमाले बाहेक अर्काे विकल्प छैन ।’



