नेकपा एमालेनिकट अनेरास्ववियुकी अध्यक्ष नविना लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की चुनावी कमाण्डर बनेकी छन् । नविनाले आज हुने उम्मेदवारी मनोनयन दर्तामा प्रचण्डसँग चितवन क्षेत्र नम्बर ३ मा खटिनेछिन् ।
दुई दलबीच वाम गठबन्धनपछि एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता गर्दा केन्द्रीय नेताहरुको क्षेत्रमा एक अर्काका विद्यार्थी नेतालाई खटाउने सहमतिअनुसार नविना प्रचण्डसँग खटिने भएकी हुन् ।
दुवै संगठनको हिजोको संयुक्त बैठकले एमाले अध्यक्ष केपी ओलीको मनोनयन दर्ता गर्न माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङलाई खटाउने निर्णय गरेको छ । रञ्जीत झापा ५ मा भोलि ओलीसँग खटिनेछन् ।
यसैगरी माधव नेपालसँग क्रान्तिकारीका उत्तम अधिकारी, नारायणकाजी श्रेष्ठसँग आरसी लामिछाने, इश्वर पोखरेलसँग दिपक देवकोटा, रामबहादुर थापासँग ऐन महर खटिनेछन् ।
अनेरास्ववियुका सचिव एवं प्रवक्ता आरसी लामिछानेले वाम गठबन्धनको मर्म अनुरुप नै दुवै दलको एकता प्रदर्शन गर्न संगठन परिचालित हुन लागेको बताए ।



