कांग्रेसको घोषणापत्रमा कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाइएको छ । त्यसको जवाफमा वाम गठबन्धनले पनि आफ्नो घोषणापत्रका कांग्रेसप्रति निकै कडा रुप अपनाएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कांग्रेस, राप्रपा, राजपा, संघीय समाजवादी फोरम र अन्य साना कम्युनिस्ट पार्टीहरुप्रतिको दृष्टिकोण राखिएको छ जसमा कांग्रेस दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित भएको आरोप लगाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेसले स्थापनाकालमा कतिपय सामाजिक–आर्थिक सुधारका कदम चालेको भए पनि सामन्तवादलाई अन्त्य गर्ने, जनतालाई अधिकार सम्पन्न बनाउने तथा राष्ट्रियतालाई सुदृढ गर्ने विषयमा सकारात्मक भूमिका खेल्न नसकेको वाम गठवन्धनको ठहर छ ।

‘कांग्रेसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकारवादी पूँजीपति वर्गसँग सम्झौता र आत्मसमर्पणको रहँदै आएको छ’, घोषणापत्रमा लेखिएको छ, ‘मुख्यरुपमा पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने यस पार्टीका नीतिहरु अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन् ।’

कम्युनिष्ट पार्टीहरुसँग आफ्नो वर्गीय र पार्टीगत स्वार्थ रक्षाका निम्ति मात्रै सहकार्य गर्ने गरेको आरोप एमाले र माओवादीले कांग्रेसलाई आरोप लगाएका छन् ।

वाम गठबन्धनको घोषणापत्रमा लेखिएको छ, ‘कांग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहीत स्वार्थ अनुरुप परिभाषित गर्ने खालको छ । यसले कैयनपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयन पटक जनविरोधी काम पनि गरेको छ ।’

कांग्रेसले बहुमत प्राप्त गरेका बेला निजीकरणको नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरु समाप्त गरेको, नवउदारवादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको, भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको आरोप लगाइएको छ ।

कांग्रेसप्रतिको दृष्टिकोण सार्वजनिक गर्दै एमाले र माओवादीले भनेका छन्, ‘यस पार्टीले राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएको छ । राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना यस पार्टीसँग छैन ।’

कांग्रेसले राष्ट्रियता र लोकतान्त्रिक मूल्यमान्यताको अवमूल्यन लगायतका कमजोरीहरु हटाएन र जनपक्षीय चरित्र विकास गर्न सकेन भने जनसमर्थन गुमाउँदै जाने चेतावनी उनीहरुले दिएका छन् ।

राजपाको नीति आत्मसमर्पणवादी

एमाले र माओवादीको घोषणापत्रमा राजपालाई राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषकका रुपमा व्याख्या गरिएको छ । संघीयताको कुरा गरे पनि राजपा स्थानीय तहको स्वशासनको अधिकारको विपक्षमा उभिएको आरोप समेत लगाइएको छ ।

राजपा मूलतः सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी हो भन्दै घोषणापत्रमा लेखिएको छ, ‘यसले राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषण गर्दछ र गरिबमुखी तथा श्रमिकवर्गीय सामाजिक( आर्थिक रुपान्तरणको विरोध गर्दछ । यसले राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, सामाजिक सद्भाव एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र सामाजिक न्याययुक्त जनमुखी एवं समाजवादउन्मुख नीतिको विरोध गर्छ । संघीयताको कुरा गरेपनि यो पार्टी स्थानीय तहको स्वशासनको अधिकारको विपक्षमा उभिएको छ ।’

संघीय फोरमप्रति नरम

उपेन्द्र यादवलाई पनि वाम गठवन्धनमा ल्याउन प्रयास गरेका एमाले र माओवादी संघीय समाजवादी फोरम पार्टीप्रति भने तुलनात्मकरुपमा नरम देखिएका छन् ।

यादव नेतृत्वको संघीय समाजवादी फोरम राष्ट्रियस्तरमा विस्तारित हुन प्रयाशरत तराई-मधेश आधारित पार्टी हो भन्दै यसका कामलाई हेरेर नीति निर्धारण गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । यद्यपि संघीय समाजवादी फोरमको नीति, काम र व्यवहार सामाजिक सदभावलाई कमजोर पार्ने किसिमको भनेर आरोप लगाइएको छ ।

राप्रपाको चरित्र सामन्तवादी

राप्रपालाई राजतन्त्रात्मक व्यवस्थाका समर्थक र त्यसलाई पुनःस्थापना गर्न चाहने पूर्वपञ्चहरुले निर्माण गरेको पार्टीको रुपमा व्याख्या गरिएको छ । राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी भएको ठहर एमाले र माओवादीले गरेका छन् ।

घोषणापत्रमा लेखिएको छ, ‘आफ्ना सामन्तवादी चरित्रमा पर्दा लगाउन राप्रपाका विभिन्न समूहहरुले उदारवाद, लोकतन्त्र र राष्ट्रवादको नारा पनि लगाउने गरेका छन् । राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी हो ।’

राप्रपाका विभिन्न समूहले लिने नीति र गर्ने व्यवहारका आधारमा यी समूहहरूलाई हेरेर व्यवहार गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

देशमा रहेका अन्य साना कम्युनिस्ट समूहहरूमा जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्ति रहेको वाम गठवन्धनको ठहर छ । त्यस्ता गुटवादी प्रवृत्तिको आलोचना गर्दै एकता, ध्रुवीकरण र सहकार्यमा ल्याउने प्रयत्न गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तो छ घोषणापत्रको पूर्णपाठ