ललितपुर। एमाले माओवादी सहितको बाम गठबन्धनका तर्फबाट ललितपुर १ का उम्मेदवार एबम नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवालले नेपाली काँग्रेसले जनताका बीचमा अनावश्यक र अपत्यारिला भ्रम छर्न छोडेर माफी माग्नुपर्ने बताएका छन् ।

आइतबार ललितपुरको विशंखुनारायणमा भएको चुनावी प्रचार सभालाई सम्वोधन गर्दै सिलवालले माफी मागेर प्रतिपक्षमा एक दुई कार्यकाल बसेर मुलुकको विकास कसरी गनर्नुपर्छ भनेर बाम गठबन्धनबाट सिक्न नेपाली काँग्रेसलाई आग्रह गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उदारीकरणका नाममा राष्ट्रिय पहिचान बनाएका भृकुटी कागज कारखाना, छाला जुत्ता कारखाना, जुटमील लगायतका उद्योगलाई ध्वस्त बनाएको काँग्रेसले जनतालाई आर्थिक विकासको पाठ सिकाएर पंगु बनाउन खोजेको भन्दै काँग्रेसको नेतृत्वमा मुलुक संचालन भएको समयमा भ्रष्टाचार संस्थागत भएको जिकिर गरेका छन् ।

पूर्व डीआईजी सिलवालले नेपाली काँग्रेसका नेता उदयसम्सेर राणालाई लक्षित गरेर भने–‘मेरो जति पारदर्शी जीवनशैली देखाएर जनतामाझ एजेण्डा लिएर आउनुस्, अरुलाई हिलो छ्याप्ने अनि अभाव र अविकासलाई भजाएर मत किन्ने प्रयास नगर्नुस् ।’

नेपाली काँग्रेसले संसद किनबेच, पजेरो संस्कृति लगायतका कुसंस्कार भित्र्याएर लोकतन्त्रलाई आफ्नो खल्तीको सामान जस्तै भजाएकोमा कटाक्ष गर्दै प्रस्तुत भएका सिलवालले बाम गठबन्धनले दुई तिहाई ल्याएर समाजवादी मोडलमा विकास गरेर युवा रोजगारीमा उल्लेखनीय काम गर्ने बताएका छन् ।