एक दशक अघि सम्पन्न संविधानसभा निर्वाचनमा राष्ट्रिय स्तरका नेताहरुलाई हराएर चुनाव जितेका अनुहार अहिले गुमनाम जस्तै बनेका छन् । माओवादीका सामान्य कार्यकर्ता विश्वदीप लिङदेनले पटक पटक चुनाव जितेका नेकपा एमालेका नेता केपी ओलीलाई चुनावमा पराजित गरेका थिए ।
सरकारको गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई माओवादी केन्द्रका सामान्य कार्यकर्ता पूर्णसिंह राजवंशीले चुनावमा पराजीत गरेका थिए । झापा ३ मा सिटौला विरुद्ध राजवंशीले १६ हजार ६८५ मत पाएर विजयी भएका थिए । सिटौलाले १४ हजार ४९ मत प्राप्त गरेका थिए ।
दोस्रो संविधानसभा चुनावमा १४ हजार ३ सय ५३ मत पाएर विजयी भएका थिए । दोस्रोमा राप्रपाका राजेन्द्र लिङदेनले ९ हजार २ सय ३५ मत प्राप्त गरेका थिए । संयोगले यसपटक पनि झापामा सिटौला र लिङदेन चुनावी मैदानमा छन् ।
२०६४ सालमा सिटौलालाई पराजित गरेका राजवंशी भने यसपटक प्रदेश सभातर्फ प्रत्यक्षको उम्मेदवार बनेका छन् । उनी झापा ३ को (ख)बाट उम्मेदवार छन् । उनले कांग्रेसका भगिरत फैजदारसंग चुनावी प्रतिष्पर्धा गर्नेछन् ।
‘पहिला पार्टीले खटायो चुनाव जितियो, एक ढंगले रोचक प्रतिष्पर्धा भयो’ राजवंशीले लोकान्तरसंगको कुराकानीमा भने, ‘यसपटक पार्टीले प्रदेशबाट खटायो । सिटौलासँग नै चुनाव लड्न भनेको भए पछि हट्ने थिइन ।’
तत्कालिन झापा ७ बाट ओलीलाई पराजीत गरेका लिम्बुले १६ हजार ९९ मत प्राप्त गरेका थिए । ओलीले १४ हजार ९ सय ५९ मत प्राप्त गरेका थिए । दोस्रो संविधानसभा चुनावमा भने ओली १९ हजार २ सय ८६ मत पाएर विजयी भएका थिए । दोस्रोमा नेपाली कांग्रेसका सरेशकुमार सुब्बाले ११ हजार ३९ मत प्राप्त गरेका थिए भने राप्रपाका राम थापाले ९ हजार ३ सय २८ मत प्राप्त गरेका थिए ।
ओलीलाई पराजीत गरेर चर्चा कमाएका लिङदेन अहिले भने माओवादी परित्याग गरेर संघीय समाजवादी फोरम पार्टीमा लागेका थिए । यसपटक उनी कांग्रेस प्रवेश गरेका छन् ।



