चितवनमा बिहीबार कम्युनिष्ट र प्रजातान्त्रिक गठबन्धनले तामझामका साथ उमेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उमेदवारीका कारण पनि चितवनमा धेरैको ध्यान तानिएको थियो ।
स्थानीय तहको निर्वाचनमा कांग्रेससँग साँठगाँठ गरेको माओवादी केन्द्रले यसपाली एमालेसँग तालमेल गरेर उमेद्वारी दिएकाले पनि चर्चा स्वभाविकै थियो । स्थानीय तहमा रेणु दाहालसँग प्रतिष्पर्धामा रहेका देवी ज्ञवाली आजको उमेद्वारी दर्तामा साथसाथै थिए ।
बिहीबार बिहान चितवन आएर मात्रै प्रचण्डले उमेदवारको टुंगो लगाएका थिए । त्यसपछि भरतपुरको रिजाल चोकबाट गठबन्धनको बाजागाजा र विभिन्न जातजातीका झाँकीसहित र्याली निस्किएको थियो ।
दिउँसो तीन बजे उमेदवारी दर्ता गराउँदा जिल्लामा आएका नेताहरुमा प्रचण्डतर्फ ध्यान तानिएको थियो ।
त्यसपछि भरतपुरको गेष्टहाउस चौरमा भएको संयुक्त चुनावी सभामा प्रचण्ड पुगे । एमाले कार्यकर्ताहरुलाई रुझाउन उनले मदन भण्डारी र केपी ओलीको प्रसंशामा केही समय खर्चेका थिए भने शान्ति प्रक्रियामा स्व गिरिजाप्रसाद कोईरालाले खेलेको भूमिका समेत स्मरण गरेका थिए ।
यसअघिका कार्यक्रमहरुमा मदन भण्डारीको खासै चर्चा नगर्ने प्रचण्डले मदन भण्डारीको मृत्यु भएको महिना जेठको ११ गतेका लागि विशेष बैठक नै तय भएको खुलासा समेत गरे ।
“जेठको तीन गते उहाँको हत्या भयो जेठ ११ गते नेपालको कम्यूनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्छ भनेर मदन भण्डारी र मेरोबीचमा रातभरी बसेर छलफल गर्ने मिटिङ तय भएको थियो,” प्रचण्डको भनाई थियो ।
पाटनका एकजना बुद्धिजीविले उक्त कार्यक्रमको आयोजना गरेको उनले बताए । प्रचण्डले भने, “भण्डारी पनि परम्परागत ढंगले बस्न नसक्ने नयाँ ढंगले जान चाहने नेता र म यो नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको निम्ति नयाँ तरिकाले जाने सोचाई भएको मान्छे भएर मिल्ने प्रयास भएको थियो ।”
त्यसकारण मदन भण्डारी र प्रचण्डको विचमा छलफल आवश्यक छ भनेर जेठ ११ गतेका लागि तयारी गरिएको उनले बताए । “तर दुर्भाग्य त्यो ११ गते आएन । जेठ तीन गते नै मदन भण्डारीको अबसान भयो । मदन भण्डारी र म जेठ ११ को डिनर मिटिङ भनिएको थियो । त्यो भएको भए के हुन्थ्यो होला ।”
उनको यो भनाईमा उपस्थित कार्यकर्ताहरुमा कौतुहलता जागेको देखिन्थ्यो ।
“अहिले कम्रेड केपी ओली र मलाई के भुमिका दिईएको छ भने समय नगुजारी नयाँ नेपाल निर्माण गर्न भनिएको छ,” उनले उद्देश्य पूरा गर्न तालमेलको बाटो भएर आएको बताए ।
अहिले धेरै क्षेत्रमा १० रेक्टरको भुकम्प आएको समेत उनले बताए । बाम र लोकतान्त्रिक गठबन्धन नमिलेको भन्दै प्रचण्डले कांग्रेसलाई लोकतान्त्रिक शव्द प्रयोग गर्ने अधिकार नै नभएको बताए ।
उनले भने “कांग्रेस दक्षिणपन्थी गठबन्धन हो, लोकतन्त्र भनेको हाम्रो आविश्कार हो ।”
उनले मृत्यु शैयामा हुँदा स्वर्गीय गिरिजाबाबुले देश बनाउने जिम्मा तपाईलाई भनेर जिम्मेवारी सुम्पेको समेत जिकीर गरे ।
उनले ठट्यौली पारमा केपी ओली र आफु उस्तै उस्तै स्वभावी भएको नेता भएको दावी गरे । “झगडा गर्नुपर्यो भने पनि भित्तै पुर्याउने र मिल्नु पर्यो भनेपनि झ्याम्मै मिल्ने गर्छौं,” उनले भने ।
उनले धेरै जिल्लाबाट रोएर उठ्नुपर्यो भनेका थिए तर आफुले यसपाली चितवनका जनताले पराजित गरे स्वीकार्छु भन्दै चुनाव लड्न आएको समेत बताए ।
यसअघि मनोनयन दर्ताका क्रममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले राजनीतिक स्थिरताका लागि उमेदवारी दिएको बताएका थिए । उनले यो गठबन्धन चुनावका लागि नभई देशको विकासका लागि भएको बताएका थिए ।
प्रजातान्त्रिक गठबन्धनको यस्तो थियो चुनावी माहोल
प्रजातान्त्रिक गठबन्धनको नेतृत्व गर्दै कांग्रेसको समर्थनमा प्रचण्डविरुद्ध राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दिएका छन् ।
उम्ेदवारी दिएपछि पत्रकारसँग विक्रम पाण्डेले विकासका लागि उमेदवारी दिएको बताए । उनले कांग्रेसले समेत हरेकबाट साथ दिन्छु भनेकाले साथ पाउने बताए ।
उनले स्वरोजगार बनाउने लक्ष्य आफ्नो रहेको बताए । कांग्रेसको समर्थनमा उमेदवारहरुसहित भरतपुरमा बृहत र्यालीसहित पाण्डे उमेदवारी दिन आएका थिए । उनीहरु बाजागाजा र भजनकिर्तनसहित उमेदवारी दिन आएका थिए ।
दुई गठबन्धनको उमेदवारी यस्तो छ
चितवनका राजनीतिक दलले मनोनयन दर्ताको दिनमा मात्रै उमेदवारी टुंग्याएका छन् । प्रजातान्त्रिक गठबन्धनका उमेदवारको टुङ्गो बिहान लगाईएको हो भने ढिला गरी कम्युनिष्ट गठधन्धनको टुंगो लगाईएको छ ।
जिल्लामा नेपाली कांग्रेसले क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एबं बन तथा भू संरक्षण मन्त्री विक्रम पाण्डेलाई बनायो ।
कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा राजेन्द्र बुर्लाकोटी, सो क्षेत्रको प्रदेश सभा (क) मा धनबहादुर गुरुङ्, तथा (ख) मा उत्तम आचार्य छन् ।
क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी र सो क्षेत्रको प्रदेश (क) मा जीतनारायण श्रेष्ठ र (ख) मा प्रकाश अधिकारीले उमेदवारी दिए ।
क्षेत्र नम्बर तीनको प्रदेश सभाका लागि (क) मा दिनेश कोईराला र (ख) मा साजनकुमार महतोले टिकट पाए ।
यता बाम गठबन्धनले क्षेत्र नम्बर १ मा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, सोहि क्षेत्रको प्रदेश सभाका लागि (क) मा दाबा लामा र (ख) कृष्ण खनाल, क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा कृष्णभक्त पोख्रेल र प्रदेश सभाको (क) मा घनश्याम दाहाल र (ख) मा बिजय सुवेदीलाई उमेदवारी दिए ।
क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा कृष्ण भुर्तेल र क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) रामलाल महत्तोले उमेदवारी दिए ।










