काठमाडौँ, २१ कात्तिक । नेकपा मालेका पोलिटव्युरो सदस्य रामचन्द्र बलामीसहित बिभिन्न पार्टीका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
काठमाडौँको बसुन्धरामा मंगलबार पाँच नम्बर क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा सीपी मैनाली नेतृत्वको मालेका पोलिटव्युरो सदस्य बलामी र केन्द्रीय सदस्य भरतमणि ज्ञवाली एमालेमा प्रवेश गरेका हुन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट मालेमा प्रत्यक्षमा उमेदवारी दिएका ज्ञवाली उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका हुन् ।

मुलुकको सम्बृद्धिका लागि बाम एकता हुनुपर्ने भन्दै प्रगतिशिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष समेत रहेका बलामीका साथ उपाध्यक्ष नरबहादुर थापासहितका सम्पूर्ण पदाधिकारी, माले गुल्मी जिल्लाका जिल्ला कमिटी सदस्य जीवराज अर्याल लगायत सयौं एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा नेपाली काँग्रेस, नयाँ शक्ति नेपालका कार्यकर्ता पनि छन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य सूर्य थापा लगायतले पार्टीमा स्वागत गरे । देशको समृद्धि र विकासका लागि एमालेलाई रोजेकोमा धन्यवाद दिए ।



