दोलखा, कार्तिक २३ । चुनाव नजिकिदै जाँदा अन्य दल त्याग गरी नेकपा एमाले प्रवेश गर्ने क्रम दोलखा जिल्लामा बढ्दै गएको छ । बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति जिल्ला सचिव पुर्णबहादुर थापासहित ५० जना एमाले गरेका छन् ।
थापाको गृह गाउँ भिमेश्वर नगरपालिका वडा नम्बर ७ कुप्रिमा आज आयोजित एमालेको चुनावी सभामा थापासहित राप्रपा र नेपाली काङ्ग्रेसका ५० जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा काङ्ग्रेसका वडास्तरका प्रभावशाली नेताहरु सिताराम शाही, नेत्रबहादुर खड्का, हेमकुमार थापा, निर्मला थापा, नवराज बस्नेत, सुकराज बस्नेत लगायत छन् । त्यसैगरी राप्रपाका वडा कमिटीका बहुमत सदस्यहरु पनि एमाले प्रवेश गरेका छन ।
राप्रपा दोलखाको सचिवको भुमिकामा रहनुभएका ६४ बर्षिय पुर्णबहादुर थापा पार्टीको महत्वपुर्ण पदमा रही लामो जीवनकाल व्यतित गरिसक्नु भएको छ । लामो राजनीतिक जीवन कालमध्ये आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राप्रपाले काङ्ग्रेस जस्तो प्रतिक्रियावादी, राष्ट्रघाति र देश विकासमा बाधा पु¥याउँदै आएको पार्टीसँग सहकार्य गरेकोले आफू जनताको हितमा काम गर्ने पार्टी एमालेमा प्रवेश गरेको बताउनुभयो ।
दुई तिहाई भन्दा बढी बहुमतको सरकार बनाएर समृद्ध नेपाल निर्माण गर्ने बाम गठबन्धनको अभियानमा योगदान पु¥याउने अभिप्रायले एमाले प्रवेश गरेको नेता थापाको भनाई छ । उहाँले आफ्नो बाँकी जीवनकाल एमालेको सक्रिय राजनिति र वडाको विकासमा सर्मपण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । थापा राजनितिक नेता मात्र नभएर समाजसेवीका रुपमा समेत परिचित हुनुहुन्छ ।
थापा लगायत सम्पुर्ण नवप्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ दोलखाका उम्मेद्वार पशुपति चौँलागाईं, एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेद्वार पार्वत गुरुङ लगायतले टिका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
भिमेश्वर नगरपालिका वडा नम्बर ७ का कुप्रि, उखुबारी र मकैबारीमा भएका चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बाम गठबन्धनबट प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ दोलखाका उम्मेद्वार पशुपति चौँलागाँईले देशका अधिकांश स्थानिय तह कम्युनिष्टको नेतृत्वमा रहेकोले प्रदेश र केन्द्रको सरकार पनि कम्युनिष्टहरुको नेतृत्वमा बनाएर मात्र देशको विकास गर्न सजिलो हुने बताउनुभयो ।
त्यसैगरी चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेद्वार पार्वत गुरुङले दोलखा जिल्लामा देशलाई नै समृद्ध बनाउन सकिने थुप्रै सम्भावनाहरु रहेकोले ती सम्भावनालाई मुर्त रुप दिनका लागि पनि बाम गठबन्धनका उम्मेद्वारलाई जिताउनु आवश्यक रहेको बताउनुभयो ।
नेकपा एमाले भिमेश्वर नगरपािलका वडा नम्बर ७ वडा कमिटीका अध्यक्ष नेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएका चुनावी सभालाई नेकपा एमाले दोलखाका उपसचिव डबल पाण्डे, एमाले प्रदेश सभा क्षेत्र नम्बर २ का इन्चार्ज भरत केसी, एमाले नेतृ कमला बस्नेत, नेकपा माओवादी केन्द्र भिमेश्वर नगर इन्चार्ज मोहन थापा, एमालेका नवप्रवेशी नेता पुर्णबहादुर थापा लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा महिलासहित हजारौं वडाबासीहरुको सहभागिता रहेको थियो । जनता टाईम्स बाट सभार










