काठमाडौं, २३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापालाई ‘गफाडी’को संज्ञा दिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा विहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचारवाजीले सेलिब्रिटी बनाएका उम्मेदवार भन्दा विचारशील र योजना बोकेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
ओलीले गगनको नाम नलिई काठमाडौं ४ मा अब सेलिब्रेटीका गफ सुन्ने भन्दा पनि भिजन भएको विकासप्रेमी नेता आवश्यक भएको बताए ।
काठमाडौं ४ बाट निरन्तर चुनाव जित्दै आएका गगन तर्फ लक्षित गर्दै ओलीले भने- ‘१० वर्षसम्म सेलिब्रिटीका गफ सुन्नुभयो । अब भिजन भएको, योजना र बौद्धिकता भएका राजन भट्टराईलाई उम्मेदवार पाउनु भएको छ, उहाँलाई जिताउनुस् ।’
एमाले नेता राजन भट्टराई काठमाडौं ४ मा वाम गठबन्धनका साझा उम्मेदवार हुन् । उनले गगनलाई यसपाली टक्कर दिँदैछन् । दैनिक नेपाल बाट सभार



