सोलुखुम्बु, कात्तिक २४
सोलुखुम्बुमा निर्वाचन प्रचारप्रसारका क्रममा बाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुदा दुई जना घाइते भएका छन् । सोताङ्ग गाउँपालिका प्रचारप्रसार भईरहेका बेला वाम गठबन्धन र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा परि वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ घाइते भएका छन् । घाइतेकोसोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । वाम गठबन्धनले आज विहान सोताङ्ग गाउँपालिकामा चुनावी सभा आयोजना तय गरी पोष्टर पमप्लेट टाँस्दै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले पोष्टर च्यातेर फालेपछि तनावको स्थिति सिर्जना भएको थियो ।
झडप पछि कांग्रेसका उम्मेदवार लगायत नेता कार्यकर्ताले हतियार सहित आक्रमण गरेको बाम गठबन्धनले आरोप लगाएको छ ।
यता नेपाली कांग्रेस पक्षले भने आफूहरुको जित सुनिश्चित देखिएपछि बाम गठबन्धनले आक्रमण गरेको आरोप लगाएको छ । बाटोमा हिँडिरहेको बेला वाम कार्यकर्ताले एक्कासी ढुगांमुढा गरेका कारण स्थिति तनाबग्रस्त बनेको कांग्रेस पक्षको दाबी छ । दुवै पक्षविच विहिवार रातिबाट नै तनाव सिर्जना भएको स्थानीय पक्षले जानकारी दिएका छन् । तनाव भएपछि ईलाका प्रहरी कार्यालय, सोताङ्गबाट खटिएको प्रहरीको टोलिले स्थिति नियन्त्रणमा लिई सुरक्षास्थिति बलियो बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



